झापामा कोरोना बिरुद्घको खोप लगाउन शुरु

भद्रपुर १४ माघ । झापामा आजबाट कोरोना भाइरसविरुद्धका “कोभिशिल्ड”नामक खोप लागाउन शुभराम्भ गरिएको छ । झापाका तीन नगरपालिका मेची प्रादेशिक अस्पताल भद्रपुर, दमकको सरकारी अस्पताल र बिर्तामोडस्थित अनारमनि स्वास्थ्य केन्द्रमा खोप लगाएर शुभराम्भ गरिएको हो ।

भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल डा. मनिष सुवेदीले पहिलो खोप लगाएका छन् । डा. सुवेदी मेची प्रादेशिक अस्पतालमा कार्यरत छन् । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे ।

अनारमनी स्वास्थ्य केन्द्र विर्तामोडमा डा. हेमन्त राठीले पहिलो खोप लगाए । डा. राठी लावण्य हेल्थकेयर क्लिनिकमा कार्यरत छन् । विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रमा स्थानीय नगरप्रमुख ध्रुव शिवाकोटीले खोप अभियान सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर अभियानको प्रारम्भ गरे ।

दमकमा पहिलो खोप दमकस्थित आम्दा अस्पतालका पूर्व सुपरीटेन्डेन्ट डा. नबिन ढकाललाई खोप दिईएको थियो । त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली लगायतको उपस्थिति थियो । खोपको सफलताको कामना गर्दै राष्ट्रिय सभा सदश्य देबेन्द्रदाहाले कार्यक्रमको शुभराम्भ गरे ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले, पहिलो चरणको खोप कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई लगाइने बताए ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार झापामा नौ हजार जनालाई पुग्ने गरी भारतमा उत्पादित कोभिशिल्ड नामक कोरोना खोप सरकारले पठाएको छ । आधा मिलिलिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने छ ।

झापाको मेची प्रादेशिक अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकबल पालिकाका लागि खोप अभियान सञ्चालन गरिने छ । यसैगरी अनारमनी स्वास्थ्य केन्द्रमा विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिकाका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका व्यक्तिहरुले खोप लगाउनेछ ।