गन्धर्व संस्कृतिका धरोहर धनबहादुरको निधन
पोखरा । प्रायजसो नेपालीको ओठमा झुण्डिएको यो गीत ‘यो दाजुको मिरमिरे आँखा, कस्तो मेरो बिगार्यो दिमाख नरोऊ मायालु।।। ’ का स्रष्टा सारङ्गी वादक धनबहादुर गायक अब यो संसारमा रहेनन् । उनीसँगै गायक प्रवीण गुरुङ र बिमाकुमारी दुराले यो लोकप्रिय गीत गाएका हुन् । यसको सङ्गीत र शब्द हो यिनै धनबहादुर गायकको ।
गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भएको हो ।
पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक थिए । विसं २०२१ मा जन्मिएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत थिए । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आएका थिए । उनी “लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ” भन्नेमा विश्वास गर्थे । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बनेका थिए ।
झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गरे तर उनको योगदानको कदर कहीँकतैबाट नभएकाले उनको स्मृति र सारङ्गी संरक्षणका लागि उक्त पाठशाला खोलिएको गायकले बताउँदै आएका थिए । एक दशकअघि दुई सारङ्गीबाट शुरु गरिएको सो पाठशालामा संरक्षकका रुपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहेका छन् । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरुप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । उक्त पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरुले सारङ्गी रेट्न सिकिरहेका छन् ।
‘बाटुलेचौरको माटो लोकसंस्कृतिले सिञ्चित छ । गन्धर्व समुदायको बस्ती पनि यस क्षेत्रको एउटा विशेषता हो । सामाजिक मूल्यमान्यता, रहनसहन, संस्कृति र संस्कारको प्रतिविम्ब लोकगीतको मौलिकतामा भेटिने यस क्षेत्रका सर्जक धनबहादुर गायकको निधनले अपूरणीय क्षति पु¥याएको छ । उहाँ अजर –अमर गीतका सर्जक मात्र नभई कुशल वाद्यवादक पनि हुनुहुन्थ्यो । उहाँ पोखरेली सङ्गीतका क्षेत्रमा मात्र नभई नेपालको सङ्गीत क्षेत्रको एउटा असल सङ्गीतकर्मी पनि हुनुहुन्थ्यो । उहाँ पुर्खाको चिनोलाई जर्गेना गर्न तल्लीन हुनुभयो । उहाँले पछिल्लो पुस्तालाई सारङ्गीको संरक्षणमा सहभागी गराउनुभयो । लोकसंस्कृति विशेष गरी सारङ्गी संरक्षणमा उहाँले पु¥याएको योगदान निकै महत्वपूर्ण छ ।(रासस)