पुलिस क्लब सेमीफाईनलमा

काठमाडौं । नेपाल पुलिस क्लब, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको समुहको आफ्नो अन्तिम खेलमा पुलिसले प्रदेश २ लाइ ४ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । ओसिलो मैदानका कारण ढिलो सुरु भएपछि खेल ५० बाट ४७ ओभरमा झारिएको थियो । प्रदेश २ का लागि हरि शंकर शाहले सर्वाधिक ५३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । हरि शंकरले ८४ वल खेल्दै पांच चौका र एक छक्का प्रहार गरेका थिए । उनी रन आउट भएका थिए । हिमाशुं दत्तले १६, आदिल अन्सारी १५, सुरज कुर्मी १३, रवि सिंह र विशाल सुस्लिङले समान १२–१२ रन जोडे । प्रदेश २ लाइ सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले चार विकेट लिए । सागर ढकालले २ र पवन सरार्फले एक विकेट लिए ।

जवाफमा पुलिसले ३८ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । पुलिसको जीतमा अनिल शाहले अविजीत ४७ रनको योगदान दिए । कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरीले १७, अमृत श्रेष्ठले १७ र सुनिल धमलाले १३ रन बनाएका थिए । कप्तान मंजीत श्रेष्ठ १२ रनमा अवीजीत रहे । पुलिस सेमीफाइनल प्रवेशका लागि जित्नै पर्ने दवावमा मैदान प्रवेश गरेको थियो । पुलिसको जीतपछि लुम्बिनी प्रदेश भने प्रतियोगिता बाट बाहिरियो ।

समुह बी बाट बागमती प्रदेश विजेता र पुलिस उपविजेता हुदै अन्तिम चारमा प्रवेश गरे । प्रदेश दुइ भने जारी प्रतियोगितामा एक खेलपनि नजित्ने एक्लो टोली बन्यो । उसले समुहका चारै खेलमा चारैमा हार बेहोर्यो । आजको खेल संगै सेमीफाइनल समीकरण पनि पुरा भएको छ ।