अदालतले अस्पतालको काम कारबाही तत्काल रोक्न अन्तरिम आदेश जारी
भद्रपुर ७ माघ । झापाको हल्दिबारी गाउँपालिकामा बन्न लागेको १५ शैयाको अस्पताल, अदालतले अस्पतालको काम कारबाही तत्काल रोक्न गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अस्पताल निर्माणमा स्थानीयस्तरबाट बिरोध र जग्गा विवाद देखिएकोले,अदालतले काम रोक्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा हल्दिबारी गाउँपालिकाले जग्गा छनोटसम्बन्धी निर्णय कार्यान्वयन नगर्नु नगराउनू भनी उल्लेख गरिएको छ । सरकारले १५ शैयाको अस्पताल साबिकको गोलधाप गाविस हाल वडा नम्बर १ मा बनाउने तोकेर पठाएको थियो
स्थानीय दिलकेशर थापाको नामबाट उच्च अदालत विराटनगर इलाममा मुद्दा दायर गरेका हुन् । निवेदक थापाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडा अध्यक्ष, दुई कार्यपालिका महिला सदस्य तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतलाई विपक्ष बनाई मुद्दा दायर गरेका छन् । मुद्दा दायर भएपछि माघ ४ गते उच्च अदालत विराटनगर, इलामका न्यायाधीश शिवनारायण यादवको एकल इजलासले माघ १२ गतेसम्मका लागि गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
गोलधापको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल बनाउने भनी मन्त्रालयले तोकेर पठाएकोमा, अस्पताल पायक पर्ने ठाउँमा नभएको भन्दै गाउँ कार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै तीन किलोमिटर पूर्वमा जमिन लिएर अस्पताल बनाउने निर्णय गरेको थियो । करिब १८ करोडको लागतमा अस्पताल बन्न लागेको हो ।
गत पुस १६ गते स्वास्थ्य चौकी नजिकैको १३ कट्ठा जमिनमै प्रदेश १ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालको शिलान्यास गरिसकेकी जनाइएको छ ।