ताजा जनादेश अनिवार्य ः राष्ट्रपति
काठमाडौं । शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आज निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेस गरेको छ । यसै सन्दर्भमा प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले संसद् विघटनपछि सरकारले आगामी वैशाखमा तोकेको निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहितबनाउन दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास पनि व्यक्त गरिन् ।
उक्त अवसरमा निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन पनि राष्ट्रपतिले सुझाव दिइन् । आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य समेतको निर्वाचन गराउने भएकोले यो महत्वपूर्ण जिम्मेवारी रहेको कुरा व्यक्त गरिन् ।