रेलमार्ग निर्माणमा उत्पन्न समस्या समाधानमा चासो
बिर्तामोड ४ माघ । निर्माण प्रकृयामा रहेको पूर्व–पश्चिम रेलमार्ग अन्तगर्त काँकरभिट्टा–इनरुवा १०६ किलोमिटर क्षेत्रमा उत्पन्न मुआब्जा, क्षतिपूर्ति लगायतका समस्या तत्काल समाधान गर्न सरोकारवालाले चासो देखाएका छन् । समस्या बढ्दै गइरहेका बेला आइतबार झापाको बिर्तामोडमा भएको छलफलमा, प्रदेश सभाका सदस्यहरु, मुआब्जा निर्धारण उपसमिति तथा प्रभावितहरु बीच भएको छलफलबाट वैज्ञानिक र पारदर्शी ढंगले क्षतिपूर्ति, मुआब्जा लगायतका समस्या समाधान गर्न सहमति जनाइएको छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण उपसमितिका संयोजक कृष्णबहादुर शाहीले मुआब्जा निर्धारण प्रक्रियाको बारेमा जानकारी गराउँदै समस्याहरुको समयमा नै निक्र्योल गरी समाधानमा अग्रसर हुन सबै सरोकारवालालाई आग्रह गरे ।
रेलवे प्रभावित समन्वय तथा मुआब्जा समिति प्रदेश नं. १ का महासचिव रञ्जित प्रसाईं, प्रदेश स्तरीय समितिका सदस्यहरु ओमकृष्ण विमली, विश्वराज न्यौपाने, मोरङ जिल्ला समितिका सदस्य चक्र भण्डारी, बिर्तामोड नगरस्तरीय समितिका प्रकाश न्यौपाने लगायतले चलनचल्तीको मूल्य अनुसार प्रभावितहरुलाई उचित मुआब्जा र क्षतिपूर्ति प्रदान गरी स–सम्मान स्थापित हुने वातावरण सिर्जना गरिदिन तीनै तहका सरकारलाई आग्रह गरे । उनीहरुले प्रक्रियाको ढिलासुस्तीप्रति गुनासो गर्दै रेलवे बन्ने ठाउँको वास्तविक डिमारकेशनसहित यथाशीघ्र समस्या समाधानमा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।
प्रदेश सभा सदस्यहरु, झलकसिंह दर्लामी, गोपाल बुढाथोकी, एकराज कार्की र श्रीप्रसाद मैनालीले व्यवहारिक रुपमा रेलवे प्रभावितका समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै कसैलाई घरबारविहीन बनाउनु नहुने बताए । उक्त विषयमा आफूहरु संवेदनशील रहेको भन्दैे यथाशीघ्र प्रक्रिया अघि बढाउन चासो देखाएका छन् । साथै स्थानीय प्रशासनले तीनै तहको जनप्रतिनिधिसँग र प्रभावितहरुसँग छलफललाई निरन्तरता दिने हो भने विवाद र द्वन्द्वलाई न्यूनीकरण गर्दै समस्या समाधान गर्न सकिने बताए ।