सर्वोच्चको धम्कीपूर्ण विज्ञप्तिप्रति प्रेस संगठनको कडा आपत्ति
काठमाण्डौं । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको छ । महासंघको सिन्धुपाल्चोकको हेलम्बुमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सर्वोच्च अदालतले समाचारको विषयमा निकालेको विज्ञप्तिले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर गरेको हो ।
सर्वोच्चका न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको विषयमा समाचार छापेका रातोपाटी र नेपालखबरको नामै किटेर सर्वोच्चले शुक्रबार विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमा सञ्चारमाध्यमलाई कानुनी कारबाही गर्ने ‘चेतावनी’ दिइएको थियो ।
महासंघले स्वतन्त्र प्रेसलाई धम्क्याउने कार्य जोकोही बाट भएको भएपनि बन्द गर्न आग्रह गरेको छ । यसअघि शनिबार प्रेस संगठन नेपालले पनि सर्वोच्चको विज्ञप्तिप्रति कडा आपत्ति जनाउँदै स्वतन्त्र प्रेसलाई नधम्क्याउन चेतावनी दिएको थियो ।
यसैगरी प्रेस संगठनका संयोजक महेश्वर दाहालद्वारा जारी विज्ञप्तिमा माघ २ मा सर्वोच्चबाट जारी भएको विज्ञप्तिमा आचारसंहिता र कानुनको हवाला दिँदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरिएको ठहर गरिएको छ ।
‘न्यायको सर्वोच्च थलो जनताको आस्था र विश्वासको केन्द्र सम्मानित सर्वोच्च अदालतबाट त्यस प्रकारको भाषा शैली सहित सञ्चारमाध्यमहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गरिनु खेदजनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामीले गरिमामय न्यायपालिकाको स्वच्छता र विश्वसनीयताप्रति गहिरो भरोसा राख्दै आएका छौं । तर प्रेस तथा अभिव्यक्ति स्वातन्त्रतामाथि अंकुश लगाउने गरी ‘कानुनी कारबाही’को धम्कीसहित जारी विज्ञप्तिले हामी सशंकित बनेका छौं ।’
जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संविधानसभाबाट बनेको संविधानमाथि प्रहार गर्दै ५ पुसमा सरकारले चालेको असंवैधानिक कदमपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार हुने आंशका पैदा भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।