भद्रपुरका ४ वटा निजी विद्यालय बिरूद्ध श्रम अदालत जाने निर्णय

भद्रपुर,४ माघ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले उठाएका माग सम्बोधनका लागि नगर क्षेत्रका २७ वटा विद्यालय सहमत भएपछि माघ ५ गतेदेखिको शैक्षिक हड्ताल फिर्ता गर्दै नयाँ रणनीतिका साथ आन्दोलन अगाडि बढाउने निर्णय गरिएको छ ।

नगर समितिको बैठकले युनियनले उठाएको पारिश्रमिक भुक्तानीको माग सम्बोधन गर्दै नगर क्षेत्रका २७ वटा विद्यालय सहमत भएपछि विद्यालय बन्दको कार्यक्रम फिर्ता लिइएको हो । भद्रपुर क्षेत्रमा रहेका निजी लगानीका ३१ वटा विद्यालय मध्ये २७ वटाले शिक्षक, कर्मचारी लगायतका तलव भुक्तानीमा सहमती जनाएर कम्तीमा २०७७ मंसिरसम्मको पूर्ण पारिश्रमिक दिन तयार भए पनि ४ वटा विद्यालयले शिक्षक कर्मचारीका माग बेवास्ता गर्दै दमनको नीति लिएको पाइएपछि त्यस्ता विद्यालयको सवालमा श्रम ऐन अनुसार कानुनी उपचारमा जाने समेत बैठकले निर्णय गरेको छ ।