ओली राष्ट्रवाद पनि प्रायोजीत त थिएन ?
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिको यो सबै दुःख र धपेडी केका लागि ? कसका लागि ? जनताका लागि वा आफ्नै गुटको बचाऊका लागि ? राजनीतिक स्थायित्व र स्थितिरताका लागि वा नयाँ पार्टी बनाएर मध्यावधि चुनावमा विजय यात्राका लागि ? विकासका लागि वा विनासका लागि ? आम नेपालीका मनमा अविरल रूपमा उठिरहेको प्रश्न पनि यही हो ।
राजनीतिक अस्थिरताले देश विकास हुन सकेन भनेर ऐतिहासिक जनमत दिएर ओलीलाई शक्ति सम्पन्न प्रधानमन्त्रीको सौभाग्य पनि नेपाली नागरिकले नै दिएका थिए तर यही सौभाग्यमाथि ओलीले प्रहार गरेर देशलाई अस्थिरताको बाटो मोडिदिएका छन् ।
उन्नत शासकीय शैली दिने वचन चुनावी भाषण मात्र बनाएका ओलीले भारतीय हस्तक्षेपलाई चीनतिर सारेर नेपाली स्वाधीनता सधैंका लागि तिलाञ्जली दिएर नयाँ इतिहास रचे । यसखालको आचरणलाई कुन दृष्टिको राष्ट्रवाद मान्ने ? प्रायोजीत कि सुनियोजीत ?
नेपालले पछिल्ला बीस वर्षमा जे हासिल गरेको छ, त्योभन्दा धेरै गुमाएको छ । यसकारण सँगै अघि बढेका धेरै मुलुकभन्दा आज नेपालको स्थान पछाडि छ । हिंसात्मक राजनीतिले गरेको क्षति एउटा छ भने, खुला समाजका विकृतिलाई नियमन र नियन्त्रण गर्न नसक्दा गलत सामाजिक मनोविज्ञानको भाष्य निर्माण भयो । यो झनै हानिकारक छ ।
सत्ता र सत्ताइतरका सबैको कमजोरीका कारण आज हामी यहाँ छौं । मुलुकलाई राजनीतिक रंगमञ्च बनाएर आमजनतालाई आजित बनाउने काम इतिहासमा फेरि दोहोरिएको छ । शक्तिराष्ट्रहरूसमेत तन्नम गरिब मुलुकमा केहीलाई प्रत्यक्ष सहयोग गरेर भए पनि शिक्षित र सम्पन्न बनाउनमा लाग्छन् ।
किनभने सामान्य कूटनीतिक र विकासका गतिविधि गर्न पनि जानेबुझेका ‘स्थानीय विज्ञ’ को आवश्यकता हुन्छ । यिनै व्यक्ति समातेर देश भित्रका गोप्य कुरा स्वार्थ समूहले लिन सक्ने छन् । ओली सरकारको राष्ट्रवाद पनि कहीँ न कहीँ स्वार्थ समूहको प्रायोजन हो कि भन्ने कुरा विगतको भारत विरोधी हुंकार वर्तमानको लम्पसारवादले पुष्टि गर्दै गएको छ ।
ओली सरकारले घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचनको ३ वर्षे अवधि पूरा हुँदै गर्दा नेकपाले पाएको भारी जनमत सदुपयोग गर्न नसकेर संसद नै समाप्त गर्न सफल भयो । ओली नेतृत्व सरकारले जनभावना अनुरुप चलेको अनुभव नेपाली जनमानसमा परेको छैन ।
कम्युनिस्टको रूपमा आएको नेकपा सरकारको काम गर्ने शैली अनुभव गर्दा उग्र सामन्तवादी शैलीकै बाहुल्यता छ । हुकुमी प्रवृत्ति, भ्रष्टाचार, दुराचारको संरक्षण जस्ता कार्यशैलीले कम्युनिस्ट चरित्र समाप्त भइसकेको अनुभूति जनमानसमा छ ।
अब निर्वाचनमा जाँदा प्रधानमन्त्री ओलीले के नारा लगाउलान् ? हिजो राष्ट्रवादको नारा लगाए आज त्यो प्रायोजीत भएको पुष्टि हुँदै छ । स्थीर राजनीतिको कुरा गरे अझ अस्थिर राजनीति संस्कार छोडिसकेका छन् । अब के बाँकी छ ? ओलीसरकारलाई नेपालको नेतृत्व गर्न स्वार्थ समूहको प्रायोजन पूरा हुने वातावरण निर्माणका लागि । आम नेपालीसित रहेको अनुत्तरित प्रश्नले उत्तर खोजिरहेको छ ।