छैठो नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमको समिक्षा
गौरादह । गौरादह नगरपालिकाको सम्पन्न छैठो नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रमको समिक्षासहित ६ महिना अवधिको कार्य प्रगति विवरण प्रस्तुत भएको छ । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहले पारित वजेटको समिक्षासहित सातौ नगर सभामा आर्थिक वर्ष २०७७र७८ का लागि स्विकृत वार्षिक नीति तथा कार्यक्रमको प्रगति विवरण आज प्रस्तुत गरेका हुन् । नगर प्रमुख साहले वार्षिक नीति तथा कार्यक्रमको समिक्षासहित प्रगति विवरण सुनाउनु अघि नगरपालिका, वडा कार्यालय र स्वास्थ्य चौकी कार्यालय भवनका लागि जग्गादान गर्ने ३५ जना जग्गादातालाई अविर लगाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका थिए । जग्गादाताहरूलाई नगर प्रमुख रोहितकुमार साह र उपप्रमुख गीता भेटवालले अविरसंगै सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।
नगर प्रमुख साहले चालु आर्थिक वर्षका लागि प्रस्तावित आय व्ययको अवस्था, कोभिड १९ को संक्रमण रोकथाम, उपचार तथा राहत वितरणलगायत सम्पुर्ण कार्यका लागि भएको आम्दानी खर्च विवरण, भौतिक पूर्वाधार निर्माणको अवस्था, चालू आ। व। का लागि स्वीकृत नगर स्तरिय योजनाहरूको विवरण, स्वास्थ्य संस्थाहरूबाट सेवा लिएका सेवाग्राहीको विवरण, आयुवेर्द सेवा, शिक्षा क्षेत्रमा शिक्षण सिकाई कार्यक्रम संचालन, कृषि , पशु, महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई दिईएको स्वास्थ्य सेवा, सामाजिक सुरक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गौरादह नगरपालिकाको सातौ नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख साहले नगरको जम्मा वेरूजु पर्छौट ५ करोड ३९ लाख ९३ हजार ३ सय १९ रूपैयाँमध्ये २६ लाख ७९ हजार ८ सय ३१ रूपैयाँ फर्छौटका लागि कागजात पेश भएको बताएका थिए । हालसम्मको नगरपालिकाको चालु आर्थिक वर्षमा सम्पादन गर्नु पर्ने निर्धारित कार्यको कुल मुल्यांकन गर्दा ६० प्रतिशत मात्र प्रगति भएको नगरप्रमुख साहले जानकारी दिएका थिए । नगर प्रमुख साहले भौतिक पूर्वाधार तर्फको उपभोक्ता समितिबाट गरिने निर्माण कार्यको सम्बन्धमा सम्झौता कार्य माघ मसान्त भन्दा पछि नगर्ने, उपभोक्ता समितिले गर्ने बहु बर्षे प्रकृत बाहेक को म्याद थप नगर्ने र असाढ १५ गते भन्दा पछि भुक्तानीका लागि पेश हुने कागजात विलभर्पाई भुत्तानी दिन कार्यालय बाध्य नहुने जस्ता नीति अवलम्वन गरिने सम्बोधनका क्रममा बताएका थिए । गौरादह नगरपालिका अन्तरगत लामो समय देखि ठेक्का सम्झौता भई हाल सम्म पनि कार्य सम्पादन भई नसकेका, सम्पादित कार्यको मुल्यांकन गर्ने आधार र प्रमाण नभएकाले ३ वटा योजनाको ठेक्का भङ्ग गरि कानुनी प्रकृया अगाडि बढाउन अनुमोदनका लागि नगर प्रमुख साहले सभामा पेश गरेका थिए ।
लक्की कन्सट्रक्सन एण्ड ईन्जिनियर विल्डर्स विर्तामोडले ठेक्का लिएको प्रदानन्द सापकोटको घर पुर्वबाट जुरोपानी जोड्ने मुल सडकसम्मको सडक विस्तार तथा ग्राभेल गर्ने कार्य, वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. दमकले सम्झौता गरेको रंगिन जस्ता पाता खरिद आपूर्ति र स्यालो टुवेल खरिद आपूर्ति ठेक्का सम्झौता रद्द गर्नका लागि सभामा पेश भएको थियो ।
त्यसैगरी कोभिड – १९ को संक्रमणको रोकथाम र उपचार गर्ने क्रममा हालसम्मको कार्यालयबाट खरिद र भुत्तानी गरिएको खाद्यान्न विवरण ९ पहिलो र दोस्रो चरणमा जम्मा ० अनुमोदनका लागि नगर सभामा पेश भएको छ । हालसम्म कार्यालयबाट ७२ लाख १८ हजार १ सय ७६ रूपैयाँको १,७६३६० केजी चामल, १४ लाख ८६ हजार २ सय २३ रूपैयाँको १३२०९ केजी दाल, १६ लाख ५ हजार ५ सय ९३ रूपैयाँको १०३०० लिटर तेल र १ लाख ९६ हजार ७ सय ८० रूपैयाँको १०२०३ केजी नुन खरिद भएको विवरण प्रस्तुत भएको हो । उत्त विवरणको सम्पुर्ण हिसाब विवरण सबै नगर सभा सदस्यहरूलाई अनुमोदनका उपलब्ध गराएको छ ।
त्यसैगरी गौरादह नगरपालिकाभित्र रहेका क्वारेन्टाइनहरूमा गएको खाद्यान्न विवरण उपलब्ध गराईएको छ । गौरादह नगरपालिकाको स्वास्थ्य चौकी जुरोपानी, प्रगति मावि जुरोपानी, जनता मावि गौरादह, कृषि क्याम्पस गौरादह, स्कुलचौन मावि स्कुलचौन, स्वास्थ चौकी स्कुलचौन, बैगुनधुरा मावि वैगुनधुरा, नमुना खेति होमस्टे स्कुलचौन, सामुदायिक भवन जुरोपानीलगायतका क्वारेन्टाइनमा ५२५० केजी चामल, १४५० केजी दाल, ४८० लिटर तेल र ३३१ केजी नुन वितरण भएको जनाएको छ ।
नगरपालिकाबाट असहाय तथा गरिबका लागि ८७० केजी चामल, ५० केजी दाल र ८ केजी नुन वितरण भएको विवरण भएको जनाईएको छ नगरसभामा प्रकोप व्यवस्थापन कोषबाट भएको खर्च विवरणसमेत उपलब्ध गराएको छ । नगरपालिकाले कोरोना भाईरसको संक्रमणको उपचार र रोकथामका लागि प्रकोप व्यवस्थापन कोषबाट ३९ लाख ८१ हजार ४ सय ६२ रूपैयाँ खर्च भएको जनाएको छ । नगरपालिकाले मास्क र गाउन, पिपिई, सेनिटाईजर, क्वारेन्टाइन र आईसोलेसनमा खाना र नास्ता खर्च, तरकारी फलफुल, क्वारेन्टाइन आईसोलेसनमा भान्से, सुरक्षा गार्ड, हेल्फरको तलब भत्ता, एम्बुलेन्सको ईन्धन खर्च, औषधि, धारा, विजुली, फर्निचर, प्रचार प्रसार, निर्माण र मर्मत सरसफाई र क्वारेन्टाइनहरू र आईसोलेसनमा कपडा लुगाओडने ओछ्याउने शिर्षकमा खर्च गरेको छ ।
नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए । माघ ९ गते पुनः बस्ने गरि नगरसभाको पहिलो सत्र सम्पन्न भएको थियो ।