अभिनेत्री मनिषा कोइरालाले पृथ्वीनारायण शाहको

शालिकमा माल्यार्पण गर्न अवरोध गरेकोमा विरोध गरेकी छिन

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले सरकारले पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्न अवरोध गरेकोमा विरोध गरेकी छिन् ।

पृथ्वी जयन्तीका दिन रत्नपार्कबाट निस्केको जुलुशको नेतृत्व गर्दै सिंहदरबारतर्फ जाँदै गर्दा मनिषालाई प्रहरीले भद्रकालीमै रोकेको थियो। उनले भनेकी छिन्, ‘मलाई भद्रकालीमा रोकियो, राष्ट्रको नायकप्रति श्रद्धाञ्जलिसम्म दिन दिइएन ।’

प्रहरी अवरोधपछि मनिषाले भनिन्, ‘मैले राष्ट्रनायकप्रति श्रद्धाञ्जलि दिन चाहेको थिएँ, तर प्रशासनले रोक्यो ।’ उनले ट्वीट गर्दै सरकारी अवरोधप्रति विरोध प्रकट गरेकी छन् । उनले सरकारले निन्दनीय कार्य गरेको बताएकी छन् । उनले लेखेकी छन्, ‘पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

मनिषाले बोल्न तयार गरेको बिचार यस्तो थियोः—

“पृथ्वीनारायण शाहले सूर्य र चन्द्रमाको झण्डा फहराएर टुक्राटुक्रामा विभाजित बाइसे चौबिसे राज्यहरुलाई सूर्य र चन्द्रमामा अंकित झण्डामुनि एक सूत्रमा बाँध्ने काम गरे । उनले नेपाल राष्ट्रको निर्माण नगरेको भए, हामीले के एक स्वाभिमानी र स्वतन्त्र नेपाली हुनुको गौरव गर्न सक्ने थियौँ र १ के बुद्ध जन्मेको लुम्बिनी, जनक र सीता जन्मेको मिथिला र विश्वको ताज सगरमाथाको देशको नागरिक हुनुको गौरव गर्न पाउने थियौँ त ? करीब ३०० वर्षअगाडि हामीलाई साझा ‘नेपाली’ राष्ट्रिय पहिचान दिने श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहलाई श्रद्धाञ्जली दिन हामी यहाँ भेला भएका छौँ उहाँको जन्मदिनका अवसरमा । यहाँ हामी समस्त विवेकशील र स्वाभिमानी नेपालीहरुका प्रतिनिधिका रुपमा उपस्थित छौँ, हाम्रा राष्ट्र निर्मातालाई हामीले ससम्मान सम्झनुपर्छ भन्ने उदाहरण पेश गर्न । पृथ्वीनारायण शाहले शासन गर्नका लागि मात्र भौगोलिक एकीकरण गरेका थिएनन्। उनले एउटा सभ्य, उन्नत, राजा र जनताबीच सहकार्यमा आधारित आधुनिक राज्यको जग पनि हालेका थिए। आज हामीलाई मुलुकमा कुन विषयले बढी पिरोलिरहेका छन् त१ इतिहासमै पराधीन नरहेको हाम्रो यो मुलुकले स्वतन्त्रता गुमाउला कि१ हामीले टाढा र नजिकका मुलुकहरुप्रति समानताका आधारमा हैन, समर्पणको व्यवहार त अपनाएनौँ ? आज शासक भष्ट बनेका छन् । पृथ्वीनारायण शाहले भनेको जस्तो ‘जनता मोटा भया दरबार बलियो हुन्छ’ भन्ने मान्यताको ठीक विपरीत दरबारमात्र मोटाएका छन्। जनता दरिद्र र गरिब भएका छन्, यस्तो अवस्था किन आयो ? आज मुलुकलाई ‘एक हैन खण्डित’ बनाउने षड्यन्त्रमा हामी किन छौँ ? छोटकरीमा पृथ्वीनारायण शाहले जे भने र जे गर्न चाहन्थे, त्यसको ठीक उल्टो हामीले गरिरहेका छौँ, भोगिरहेका छौँ ।

२०६३ वैशाखको परिवर्तन लगत्तै राष्ट्र निर्माताको ‘हिरो’ हैसियत खोसेर उनलाई खलनायक बनाउने प्रयास नै राष्ट्रविरुद्ध षड्यन्त्रको शुरुवात थियो। आउनुस् आजको दिन हामी प्रण गरौँ, त्यो षड्यन्त्रलाई समूल नष्ट गर्न, उनी र उनका सिद्धान्तलाई सदा सम्मान गर्न र नेपाललाई एक स्वतन्त्र समृद्ध र एकतावद्ध राष्ट्रका रुपमा अगाडि लैजान ।”