माङहिमको भवन निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग
दमक २९ पुस । कमल ७ स्थित मेमेङ टोलमा निर्माणाधीन किरात युवा माङहिमको भवन निर्माणमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढेको छ । दुई वर्ष अघि निर्माण शुरु भएको माङहिमको निर्माण कार्यमा सघाउ पुरयाउँन स्थानीय तथा विदेशमा बस्दैआएका नेपाली शुभेच्छुकहरुबाट सहयोग जुट्न थालेको हो ।
यसैक्रममा दमक ८ घर भई युकेमा बस्दैआएकी सामाजिक व्यक्तित्व शान्ता केरुङले १ लाख ५ हजार ५ सय सहयोग उपलव्ध गराउने घोषणा गरेकी छन् । गीत,संगीत क्षेत्रमा संलग्न रहिआएकी उनले आफनो ठाउँमा निर्माण शुरु गरिएको माङहिम निर्माण सम्पन्न गर्न सो सहयोग रकम दिने प्रतिवद्धता जनाईन् ।
यस्तै, कमल ७ घर भई हाल हङकङमा बस्दैआएका दाजुभाई आइतराज लिम्बू र ओमप्रकाश लिम्बूले पनि माङहिमका लागि जनही १ लाख ५ हजार दिने घोषणा गरेका छन् । त्यस्तै, स्थानीय निर्माण व्यवसायी गंगाप्रसाद केरुङले पनि माङहिमको ढलानमा लाग्ने श्रमिक खर्च नलिने प्रतिवद्धता जनाएका छन् ।
यसैगरि, माङहिम सरोकार स्थानीयहरुसहित कार्यसमितिको हालै सम्पन्न बैठकले माङहिम निर्माणमा तीव्रता दिनका लागि सबै क्षेत्रबाट सहयोग जुटाउने निर्णय भएको अध्यक्ष भिमराज लिम्बूले वताए । माङहिमको अधुरो कामलाई यसैवर्षभित्र सम्पन्न गरिसक्ने गरि काम थाल्ने समेत निर्णय भएको उनले वताए । माङहिममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले समेत न्यूनतम रु १० हजारभन्दा माथि सहयोग उपलव्ध गराउने बैठकले निर्णय गरिएको उनले जनाएका छन् ।
माङहिमका उपाध्यक्ष पूर्णकुमार मावोले माङहिम निर्माणमा आर्थिक अभाव झेल्नुपरेको कारण केहि समयदेखि काम रोक्नु परेकाले अव सवै क्षेत्रको सरसहयोग जुटाएर भवन वनाउन पहल थालिएको वताए । माङहिम वनाउन स्थानीय दुई जना दाताले अढाई कठ्ठा जमिन निशुल्क दान दिएका थिए । सामाजिक व्यक्तित्व गणेश प्रसाद केरुङले आफनो नामको २ कठ्ठा जमिन माङहिमलाई दान दिएका थिए । त्यस्तै, स्थानीय बुधमाया मावोले पनि १० धुर जमिन माङहिमलाई दिएकी छन् । त्यही जमिनमा समितिले दुई वर्षदेखि माङहिम निर्माण कार्य थालेको हो । अहिलेसम्म माङहिममा दुई आर्थिक बर्ष गरि गाउँपालिकाबाट ५ लाख ५० हजार, यूके तथा स्थानीय छरछिमेकीबाट रु १ लाख सहयोग संकलन गरि निर्माणको क्रममा रहेको सचिव विष्णु सुब्बाले बताएका छन् । माङहिम सम्पन्न गर्न थप रु १५ लाख लाग्ने अनुमान छ । माङहिम निर्माण पछि त्यस क्षेत्रका किरात धर्मावलम्बीहरुलाई आफना संस्कारजन्य पूजाआजा गर्न सघाँउ पुग्ने पुजारी वमविक्रम लावतीले वताए ।