प्रधानमन्त्रीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिए

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिको बताएका छन् । सोमबार काठमाडौंमा संविधानसभा सदस्य मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘संविधानमा विघटनको व्यवस्था छैन भन्ने बुझेर पनि बल मिच्याई गरि प्रतिनिधिसभा विघटन गर्नुभएको छ । यो संविधानको विघटन हो ।’ उनले यो संविधानले राम्रो व्यवस्था होइन, तानाशाह नै पो जन्माएको हो कि भन्ने आशंका आम रुपमा उठ्ने भन्दै यसको निरुपण हुनुपर्ने बताए ।

ढुंगानाले न्यायालयमाथि नागरिकले प्रश्न उठाउने अवस्था नआओस् भन्ने कामना गरे । उनले भने, ‘अदालतको पनि जवाफदेहिता छ । सडकबाटै भोलि न्यायाधीश तान्ने दिने आउला । फिलिपिन्समा त्यस्तो भएको छ । बलिदानी प्रधानमन्त्री भएको देशमा ज्ञानी न्यायाधीश छन् । यदि अहिलेको कदम सच्चिएन भने संविधान खारेज हुन्छ ।’

उनले राष्ट्रियसभाको अधिवेशन पनि नाटकीय रुपमा अन्त्य भएको बताए । ‘हिजो नाटकीय हिसाबले राष्ट्रियसभाको अधिवेशन बन्द गरिदिनुभयो ।’ अदालतले संसद विघटनको निर्णय बदर नगरेमा संविधान नै बदर गरेसरह हुने ढुंगानाको दावी छ । उनी भन्छन् – ‘संविधान हेर्ने हो भने ससंद पुनःस्थापना हुन्छ । अदालतले पुनःस्थापना नगर्ने हो भने संविधान नै खारेज गरिदिएपनि हुन्छ ।’ उनले अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै अदालतबाट नभए सडकबाट पुनःस्थापना गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।