भक्का राष्ट्रिय दिवस

पुस २५ कि पुस २९ गते भक्का राष्ट्रिय दिवस भनेर विवाद चलिरहँदा

राजवंशी समाज विकास समिति भद्रपुरले शनिबार भक्का दिवस मनायो

भद्रपुर । राजवंशी समाज विकास भद्रपुर नगर समितिको आयोजनामा शनिवार भद्रपुर ४ नम्बर वडा कार्यालयको परिसरमा राष्ट्रिय भक्का दिवस मनाइएयो । भद्रपुर ४ का वडा अध्यक्ष तथा समितिका नगर अध्यक्ष हंसधर राजवंशीको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन प्रदेश सांसद पूर्णसिंह राजवंशीले गरेका थिए । प्रमुख अतिथि समेत रहेका सांसद राजवंशीले जातीय परिकार भक्का बनाएर दिवसको उद्घाटन गरे । जातीय भेषभुषामा सजिएका उनीहरूले विविध सांस्कृतिक नृत्य र भक्का बनाउने तरिका समेत प्रदर्शनी गरेका थिए । कार्यक्रममा १०५ वर्षिया सुमित्रा राजवंशीलाई सम्मान गरिएको थियो ।

नगर सचिव वसन्त राजवंशीले स्वागत गरेको कार्यक्रममा नगर अध्यक्ष हंसधर राजवंशीले औचित्यमाथि प्रकाश पारेका थिए । खगेन राजवंशी र सुजता राजवंशीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रामाया श्रेष्ठ, समितिका पूर्व केन्द्रीय उपाध्यक्ष भरत कुमार राजवंशी, मोरङ अध्यक्ष मनोज कुमार राजवंशी ,संस्थापक सचिव तुलाराम सिंह राजवंशी, जिल्ला अध्यक्ष पुकारचन्द्र राजवंशी, संस्थापक सदस्य फालगुनी राजवंशी, त्रिनारायण राजवंशी लगायतले मन्तव्य राख्दै भक्का दिवसको बारेमा जानकारी गराएका थिए ।

दश जना महिलाले भक्का पकाएर सहभागीहरूलाई खुवाएका थिए । कार्यक्रममा आङ्राधुम्ना नाचगान कल्चर टिमले पाचाली , नटुवा , कोच गायक विन्दास राजवंशीले र्‍याप गीत प्रस्तुत गरेका थिए । विशेष गरी धान बाली भित्र्याएपछि जाडो महिनामा चेलीबेटीहरूलाई बोलाएर नयाँ चामलको पिठोबाट निर्मित भक्का खुवाउने परम्परा रहेको स्थानीय पत्रकार इन्द्रसिंह राजवंशीले बताए । यो राजवंशीको मात्र नभई गनगाई ,ताज पुरिया लगायत आदिवासी जनजातिको दिवस रहेको उनको भनाइ छ । यो दिवस मनाउने कुनै तिथि मिति नरहेको उनले प्रस्टाए । पुस २५ कि पुस २९ गते भक्का दिवस भनेर विवाद चलिरहँदा राजवंशी समाज विकास समिति भद्रपुरले शनिबार भक्का दिवस मनाएको छ ।