बहु राष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने : महतो
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । महतोले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने उनले बताए । ‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ उनले भने,‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ ।’
अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो । ‘बहु राष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ । त्यसपछि जोसुकै प्रधानमन्त्री भएपनि फरक पर्दैन’ उनले भने । बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोल चक्करमा देश फसिरहने बताए । आफूहरु बहु राष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा रहेको बताए । उनले भने, ‘प्रतिगमन कारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ ।’ यो संविधानअनुसार पटक पटक प्रतिगमन भइरहने निश्चित भएको ठोकुवा गरे ।
उनले भने,‘स्वार्थ पूरा भएन भने संविधानमाथि नै कू गर्ने गतिविधि भइरहेको छ ।’ उनले भने, ‘संविधानमाथि गिरिजाप्रसाद कोइराला र प्रचण्डले पनि प्रतिगमन गरेका थिए, देउवाले पनि प्रतिगमन गरे ।’
महतोले भने,‘अमेरिकामा एउटा संविधान २ सय वर्ष भइसक्यो, भारतमा ६५ वर्ष भइसक्यो । ७० वर्षमा नेपालमा सातवटा संविधान बनिसक्दा पनि समस्या के हो ?’ आफूहरुले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने दाबी गरे ।