बिबिएलमा खेल्दै लेगस्पिनर सन्दीप लामिछाने
अष्ट्रेलियामा जारी बिस बास लिग बिबिएलअन्तर्गत ३१औँ म्याचमा सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको थन्डरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ६७ रन बनायो ।
उसका लागि ओपनर उस्मान खवाजाले ३३ बलमा ६ चौकासहित सर्वाधिक ४९ रन बनाए । उनको अर्धशतक बनाउनबाट एक रनले चुके । सिड्नीका एलेक्स रोस ४४ र बेन कटिङ ३१ रनमा अविजित रहे ।
यस्तै एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिए । अन्य ब्याट्सम्याले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा डार्सी शर्टले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । हरिकेन्सबाट बिबिएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि सिड्नीविरुद्ध राम्रो बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा २३ रन दिएर एक विकेट लिए । आफ्नो पहिलो, दोस्रो, तेस्रो र चौथो ओभरमा सन्दीपले क्रमशः ६, ४, ६ र ८ रन खर्चिए । आफ्नो दोस्रो ओभरको चौथो बलमा उनले कप्तान कलुम फग्र्युसनलाई १ रनमा आउट गरे ।
पिटर ह्यान्सकम्बको कप्तानीमा रहेको होबार्टको यो नवौँ म्याच हो । होबार्टले जारी सिजनमा आठ म्याच खेलिसकेको छ । जसमा उसले पाँचमा जित र तीन खेलमा हारको सामना गरेको छ । होबार्ट १८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । म्याथ्यू वेडको अनुपस्थितिमा होबार्टको कप्तानी ह्यान्सकम्बले गरिरहेका छन् ।
यता जारी सिजनमा सिड्नी थन्डरले सात म्याच खेलिसकेको छ । जसमा पाँचमा जित र दुई खेलमा हार बेहोरेको छ । १९ अंकका साथ सिड्नी तालिकाको दोस्रो स्थानमा छ ।
सन्दीप लगातार तेस्रो पटक बिबिएल खेलिरहेका हुन् । उनले गत दुई सिजन मेलबर्न स्टार्सबाट बिबिएल खेलेका थिए । जारी सिजनमा सन्दीपले दुई म्याच खेल्दा तीन विकेट लिएका छन् । तीनै विकेट उनले आफ्नो पुरानो टिम मेलबर्नविरुद्ध लिएका हुन । पहिलो म्याचमा दुई विकेट लिएका सन्दीपले दोस्रोमा एक विकेट लिएका थिए । सन्दीपले पहिलो र दोस्रो म्याचमा ४–४ ओभर बलिङ गर्दै क्रमशः ३८ र ३६ रन खर्चिएका थिए । —एजेन्सी