सशस्त्र प्रहरी बल नम्बर २ गणको हेडक्वाटर उद्घाटन
झापा २० पुस । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नम्बर २ गणको हेडक्वाटर विविधत रुपमा उद्घाटन गरेका छन् । उनले सीमा सुरक्षा कार्यालयबाट गणमा परिणत भएको दुई बर्षपछि गणको हेडक्वाटर उद्घाटन गरेका हुन् ।
गणको उद्घाटन सभालाई सम्बोधन गर्दैे सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, अनुशासित र बफादार भई नागरिकको सेवा, सुरक्षामा उच्च मनोबलका साथ सहयोग गर्न निर्देशन दिएका थिए । उनले सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको जिम्मेवारी ठूलो रहेकाले देश र जनताप्रति दृढ संकल्प भई सच्चा राष्ट्रसेवकको कर्तव्य निर्वाह गर्न उनले आग्रह गरे ।
वि.सं. २०७५ मा मन्त्रिपरिषदद्वारा स्वीकृत सीमा सुरक्षा कार्यालयका रुपमा रहेको यस कार्यालयको स्तारोउन्नति गरी गणमा परिणतसहित जनशक्ति थप गरेको थियो । गणमा थप जवान व्यारेक, महिला व्यारेक, जवान मेस, कार्यालय र ठूलो सभाहलसहितका भौतिक संरचना निर्माण भएको सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वाटरका प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार आइजीपी खनालले काँकरभिट्टा, पुथ्वीनगर, कचनकवललगायतका विओपीहरुको स्थलगत निरीक्षणसहित स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम र जिल्लाका सुरक्षा समितिका पदाधिकारीसँग जिल्लाको समग्र बस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।