नेपाली विद्युतीय राहदानीमा इलामको चियाबारी

काठमाण्डौं । विद्युतीय राहदानी (ईपासपोर्ट)मा इलामको सुन्दर चियाबारी पनि समावेश छ । विभिन्न पृष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ ।

विद्युतीय राहदानी ई–पासपोर्ट छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई करिब २ अर्ब ४८ करोड रुपैयाँ (२ करोड ११ लाख अमेरिकी डलर) मो ठेक्का पाएको छ ।

ईपासपोर्टको पहिलो र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा रहनेछन् । पहिलो पृष्ठमा सगमाथा रहनेछ । दोस्रो पेजमा पोलिकार्बोनेट डाटा पेज हुनेछ । तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौंमा एक सिंगे गैँडा, आठौं र नवौंमा चाँगुनारायण मन्दिर, दशौं र एघारौंमा इलामको चिया बगान र बाहौं र तेह्रौंमा लालीगुँरासको तस्वीर रहनेछ । चौधौं र पन्ध्रौंमा पशुपतिनाथ मन्दिर, सोह्रौं र सत्रौंमा मिथिला आर्ट, अठारौं र उन्नाइसौंमा धान रोपाइँका तस्वीर रहनेछन् । २० र २१औंमा कुमारी, २२ र २३औंमा माथिल्लो मुस्ताङ, २४ र २५औंमा बाघ, २६ र २७औंमा जुम्लाको सिंजा उपत्यका, २८ र २९औंमा देशय् मरू झ्या, ३० र ३१औंमा जानकी मन्दिर, ३२ र ३३औंमा करुवा, ३४ र ३५ औंमा हात्ती, ३६ र ३७औंमा रानीपोखरी र ३८ र ३९औंमा हनुमानढोका दरबारका फोटो रहरने छन् । ४० र ४१ औं पृष्ठमा धरहरा, ४२ र ४३औंमा भुर्तिका देवल,४४ र ४५औंमा पाटन दरबार क्षेत्र, ४६ र ४७ औंमा पुतली, ४८ र ४९ औंमा बौद्धनाथ, ५० र ५१ औंमा भक्तपुर दरबार क्षेत्र, ५२ र ५३ औंमा महाकाली पुल, ५४ र ५५औंमा कृष्णसार, ५६ र ५७ मा ट्रकिङ (सगरमाथाको लुबुचे जाने क्षेत्र), ५८ र ५९औंमा रानीमहल, ६० र ६१ औंमा रारा ताल, ६२ र ६३औंमा माथिल्लो तामाकोसी र ६४ औंमा सिंहदरबारको तस्वीर रहनेछ । तिलिचो ताल, सेफोक्सुन्डो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइनलाई वैकल्पिक तस्वीरका रुपमा रोजिएको छ ।