मिलिभगतमा अबैध चोरी तस्करी बढ्दै

घुमुवा प्रहरी तस्कर र हाकिमका समन्वय कर्ता मात्र

सन्दर्भ समचारदाता

भद्रपुर । पूर्वका झापा र इलामका भारतीय सीमा नाकाबाट अबैध चोरी तस्करी मिलिभगतमा हुदै आइरहेको पाइएको छ । जिल्लाका तथा इलाकामा रहेका सुरक्षाकर्मीलाई तस्कर समूहले खुसी पारेर दैनिक लाखौँ रूपैयाँ मूल्य बराबरका अवैध तरिकाबाट सामान आयत निर्यात हुदै आएको हो । चोरी– पैठारी नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने र सीमा क्षेत्रमा हुने अन्य अपराधिक कृयाकलाप निस्तेज पार्नका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीसँगैै सङ्गठनका सादा पोसाकमा प्रहरी परिचालन गरे पनि परिचालित प्रहरी उद्देश्य विपरित कमाउने अभियानमा लाग्ने गरेको पाइएको छ । घुमुवा उपनाम पाएका त्यस्ता प्रहरी तस्कर र हाकिमका समन्वय कर्ता मात्र भएको व्यापारीहरू नै बताउने गर्छन् ।

नेपाल भारतबीच रहेका खुला नाकाका कारण झापाको केचना हुदै जलथल, ज्ञाने चोक झोलुङगे पुल छेउको बाटोबाट सामान नेपाल आउने गरेको छ । त्यसैगरी भद्रपुरको घोडामारा नाकाबाट कपडा तस्करी हुदै आएको छ । सो नाकाबाट एक हप्ता यताबाट कपडाको धन्दा शुरु भएको हो । उता काँकडभिट्टाको मेची भन्सार देखी केही दक्षिणमा रहेको चिया बगानबाट सुपारी,मरिच र छोगडा भारत पठाउने गरेको पाइएको छ । भने सोही क्षेत्रको तिरीङ ,नकलबन्दा नाका समेत प्रयोग हुदै आएको छ । सो नाकाबाट व्यापारीको सामान आउने गरेको छ । काँकडभिट्टा र इलाम गरी दैनिक एकसय पोका कपडा नेपाल छिर्ने गरेको एक कारोबारीले नै बताए । टेम्पोमा ३ हजार देखी ३५ सय सम्म खर्च गर्दा २ पोका सामान इटहरीसम्म पुग्ने गरेको उनी बताउँछन् ।

त्यसैगरी इलामको छब्बिसेबाट भित्री कच्ची बाटो प्रयोग गरी झापाको धुलाबारीमा पिकअप भेन मार्फत कपडा आउने गरेको छ भने मुख्य सडकबाट प्रत्येक यात्रुवाहक सवारी साधनमा १ वा २ पोका दैनिक विर्तामोड आउने गरेको छ ।

त्यस्तै फिकलबाट हिले नाका प्रयोग गरी हर्कटे हुदै दानाबारीको सडक प्रयोग गरी विर्तामोड ल्याउने सोही समूहले चुरोट,मरिच, सुकुमेल,मटर भारत पठाउदै आएको स्रोतको दाबी छ । कारोबारीले दुवै तर्फका प्रहरीका पूर्व तथा कार्यरत घुमुवा मार्फत ‘नजरना’ बुझाउने गरेको बताएका छन् । कामको अवस्था र परिमाण हेरेर रकम दिने गरेको उनीहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए । समाचार आएपछि केही दिन काम रोकिएपनि पुनः सुचारु हुने उनीहरु बताउँछन् । दैनिक विहान ५ देखी ९ बजेसम्म भारतबाट कपडा आउछ भने रातिको समयमा मरिच,मटर, सुपारी भारत जाने गरेको छ । अवैध रुपमा आएको सामानलाइ वैध बनाएर विर्तामोडबाट केरियर र रात्री वसबाट काठमाडाँै जाने गरेको समेत पाइएको छ । सामान एक सय पिस छ भने कारोबारीले ३० देखी ४० पिसको बिल बनाएर सामान पठाउने गरेका छन् । यस कार्यमा भन्सार समेत सामेल भएको पाइन्छ । भन्सार काट्दा आयातित सामानको परिणाम घटाएर राजश्व रकम चुहावट हुने गरेको हो ।