भानुचौक उत्तर सडक दुर्घटना स्थल बन्दै
भद्रपुर । निर्माण ठेकेदारको ढिलासुस्ती तथा खानेपानी संस्थानको चरम लापरवाहीले भद्रपुर स्थित भानु चौक उत्तर संगम दक्षिणको मेची राजमार्ग यात्रुको ज्यान लिने दुर्घटना स्तल बन्दै गएको छ ।
हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रुपमा चार वर्ष अगाडिबाट निर्माण थालनी भएको सो सडक खण्ड जताभावी खनेर छोड्दा फुटेका पाइप लाइन खानेपानी संस्थान भद्रपुरले समयमै मर्मतसंहार नगर्दा हिलाम्मे सडकका खालडाखुल्डीले यात्रुको ज्यान लिने दुर्घटना स्तल बन्दै गएको हो ।
संस्थानको व्यवस्थापन पक्षको चरम लापरवाहीले जताभावी फुटेका पाइपलाइनबाट भद्रपुर नगरपालिका क्षेत्रको दक्षिणी भेगका बासिन्दाले पिउने पानी प्रदुषित रूपमा वितरण भइरहेको पाइएको छ ।
स्थानीयले पटक पटक पिउने पानीको फुटेको पाइपलाइनबाट मिसावट भएर ढल प्रवेश गर्दा जनश्वास्थ्यमा जोखिम बढेको भन्दै संस्थान नेतृत्वसित गुनासो गर्दा समेत सुनुवाइ नभएको बताउने गरेका छन् ।
संस्थानका जिम्मेवार कर्मचारी तथा प्राविधिकको लापरवाहीले सडक छेउछाउ फुटेका पाइपलाइन राम्ररी मर्मत नहुँदा जनश्वास्थ्यमा नकारात्मक प्रभाव बढ्दै छ भने संस्थानमा जम्मा हुने लाखौं रकमको पानी सडकमा बगेर खेर गइरहेको छ ।
निर्माणाधीन मेची राजमार्ग तथा भद्रपुर नगरभित्रका विभिन्न निर्माणाधीन भित्री सडकमा फुटेका पाइप लाइन मर्मत तथा सुधारमा संस्थान नेतृत्वले बेवास्ता गरिरहेको छ भने जिम्मेवार जनप्रतिनिधि समेत बेखवर रहने गर्दा सडक हिलाम्मे भइरहेका छन् ।
संस्थानको लापरवाही प्रति स्थानीयले वडा कार्यालय देखि नगरपालिकासम्म गुनासो गरेका भए पनि सुनुवाइ नभएको बताएका छन् । बाक्लो सवारी चाप रहने अधिकाम्स सडक खण्डमा छलाछुल्ल फुटेका पाइपलाइनबाट बग्ने पानीका कारण दुर्घटना जोखिम त छदैछ, सडक किनाराबाट पैदल हिड्ने यात्रुलाइ समेत हिलो छेपिने त्रासमा यात्रा गर्न बाध्यता छ । जताततै फुटेको पाइपलाइनका कारण दुई तलामाथि पानी नचढ्ने समस्या समेत भोग्नु परेको स्थानीयको दुखेसो छ । सरकारी काम कहिले जाला घम शैलीका कारण संस्थानमा कार्यरत कर्मचारी जिम्मेवार नरहेको उनीहरूको आरोप छ । सडक निर्माण ठेकेदार समेत सडक अलपत्र छोडेर बसेको अवस्था छ ।