प्रतिनिधिसभा विघटन असंवैधानिक ः पूर्व राष्ट्रपति डा.यादव
काठमाडौं ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन् । काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व(राष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रि
यतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटोतर्फ गइरहेको बताएका हुन् ।
उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशवासीको जिम्मेवारी रहेको पनि बताए । पूर्व राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गरे । यादवले २०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।
नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्तर्राष्ट्रिय ध्यान पनि केन्द्रित रहेको भन्दै पूर्व(राष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरूले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने बताए । भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जगेर्ना गर्न अप्ठ्यारो पर्ने पनि उनको भनाइ छ । पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको बताए । राष्ट्रिय शक्ति मिलेर सबै समस्याको निदान हुने भन्दै उनले मेलमिलापको नीति आजको दिनमा अझ सान्दर्भिक भएर गएको उल्लेख गरे ।