कमल गाउँपालिकामा जंगली हात्तीको आतङ्क

दमक । जंगली हात्तीले उपद्रो मच्याउदाँ गएराती झापाको कमल गाउँपालिका वडा नं ५ मा पर्ने टुकुरे र गुहेश्वरी टोलका आधा दर्जन घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर वहादुर निरौलाका अनुसार गएराति करिव २ बजे तिर ६ वटा संख्यामा आएको जंगली हात्तीको वथानले बितण्डा मच्चाउदाँ टुक्रेका बलबहादुर विष्ट,बसन्त धिमाल,देव लिम्बू,इश्वरी भठ्ठराई,तुलसी वराल र सुकमाया लिम्बूको घरमा क्षति पुरयाँउनुका साथै अन्नवाली समेत सखाप पारेको छ । बस्तीमा नै हात्तीको बथान नै पसेपछि रातभर त्यस क्षेत्रमा त्रास उत्पन्न भएको उनले वताए ।

चुरेसंगै नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट हात्तीको समूहले एकाएक घर भत्काउन थालेपछि रातभरि त्यहाँ भागाभाग मच्चिएको थियो । हात्तीको उपद्रोका कारण स्थानीय बासिन्दाहरु घर छाडेर भाग्नुपरेको थियो । सर्वसाधारणले हात्तीका कारण मध्यरातदेखि नै बस्न नसकिने अवस्था भएको बताउँदै प्रहरीमा खबर गरेपछि हात्ती धपाउन अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको वडाध्यक्ष निरौलाले वताए ।

दमकबाट गएको जनपथ प्रहरी र लखनपुरस्थित सशस्त्र प्रहरीको टोलीसहितका सुरक्षाकर्मीहरुले दुई घण्टा लगाएर हात्तीलाई पूर्वतर्फ नै धपाउन सफल भएका थिए । चुरे र नजिकैको जंगलका कारण त्यहाँ हात्तीले यसरीनै उपद्रो मच्याउने गरेको स्थानीय लालवहादुर विष्टले वताए ।