झापामा ध्वाँसे चितुवा भेटियो

भद्रपुर । झापामा ध्वाँसे चितुवा भेटिएको छ । विश्वकै लोपोन्मुख प्रजातिमा पर्ने ध्वाँसे चितुवा झापा र इलामको चुरे क्षेत्रको जङ्गलमा भेटिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिका १ देउराली धेक्सेदेखि २५० मिटरमाथि जङ्गलमा उक्त चितुवा भेटिएकोे स्थानीय वीरेन्द्र चापागाईँले बताए । बिरालो जस्तो देखिने चितुवा केहीदिन देखि गाउँघर नजिकै जङ्गलमा देखिन थालेपछि स्थानीयले पासो थापेर समातेको र त्यसपछि वनका कर्मचारी जिम्मा लगाएको उनले बताए ।

स्थानीयले समात्न खोज्दा चितुवाको मुखमा चोट लागेको सहायक वन अधिकृत उप्रेतीको भनाई छ । नियन्त्रणमा लिएको चितुवालाई हाल कनकाई नगरपालिकास्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहभित्र प्रदेश सरकारले बनाएको वन्यजन्तु संरक्षण तथा उद्धार केन्द्रमा राखिएको छ । त्यहाँ घाइते चितुवाको उपचार समेत भइरहेको जनाइएको छ ।

‘झापामा ध्वाँसे चितुवा पहिलो पटक भेटिएको हो,’ सहायक वन अधिकृत उप्रेतीले भने, ‘घना जङ्गल तथा चिसो मौसम बस्न रुचाउने ध्वाँसे चितुवा यसअघि जिल्लामा भेटिएको रेकर्ड छैन ।’ यो चितुवा अन्य चितुवाको तुलनामा बढी आक्रामकसँगै माशंहारी र ढाड भएको प्रजातिमा पर्छ । ध्वाँसे चितुवा नेपालसहित बङ्गलादेश, भुटान, क्याम्बोडिया, चिन, भारत, मलेसिया, म्यानमार, थाइल्यान्ड, भियतनाम आदि मुलुकमा पाइन्छ ।

उनका अनुसार, नेपालमा यसको सङ्ख्या ३ सयदेखि ५ सय सम्म रहेको छ, भने विश्वमा यसको सङ्ख्या ३२ सयको हाराहारीमा रहेको छ । यस्ता प्रकारका चितुवा इलाम, कास्की र कैलालीमा भेटिने गरेको छ । समुन्द्र सतहभन्दा ३ हजारदेखि साढे पाँच हजार माथिसम्म ध्वाँसे चितुवा पाइन्छ । सन् १९०० मा पहिलो पटक ध्वाँसे चितुवा चीनमा भेटिएको थियो । चीनमा भेटिएको चितुवालाई त्यसपछि लन्डन लगिएको थियो ।