कांग्रेस चुनावमा होस् वा बिरोधमा एक्लै हिड्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, बिरोध प्रदर्शन एवम् निर्वाचन कांग्रेस एक्लै हिड्ने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेस कसैसँग मिलेर निर्वाचनमा जाँदैनौं मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ । जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ । हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ । अलोकतन्त्रको निर्णयको खिलाप एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ।’
देउवाले संसद् विघटनको विषयमा अदालतको फैसला कुरिरहेको पनि बताए । कांग्रेस अदालतलाई थर्काउने, धम्क्याउने पार्टी नभएको भन्दै देउवाले अदालतको फैसला स्वीकार गर्ने पनि बताए । ‘कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो । सधैँ सम्मान गरेको छ ।
अदालतले जुनै पनि किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौँ । बानी पनि छैन, चलन पनि छैन । अदालतलाई स्वविवेकीय अधिकार छ,’ उनले भने, ‘अदालतको अधिकारको निर्णय त्यसलाई हामी स्वीकार गर्नेछौँ । अन्तिम ठाउँ न्यायालय हो । हाम्रो पक्षमा होस् विपक्षमा होस् मान्न तयार छौँ ।’ उनले अदालतमा विचाराधीन मुद्दामा कांग्रेस नबोल्ने पनि बताए ।