‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार सहयोग
बिर्तामोड । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुई जना समाजसेवी तथा व्यवसायी व्यक्तित्वहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् ।
महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षिका निरा प्रधानको ७६ औं जन्मोत्सवको अवसरमा सोमबार भूतपूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा पब्लिक क्याम्पस अनारमनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी राजकुमार पोखरेलले नगद २५ हजार र पत्रकार तथा गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर युवा व्यक्तित्व विरु दर्नालले ५ हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उनीहरु दुवैले आफूलाई शिक्षाको ज्योति प्रदान गरेर समाजमा स्थापित गराउन सफल गुरुआमाको जन्मोत्सव कार्यक्रममा उनको हातबाट नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवकोटीलाई सो रकम प्रदान गरिएको छ ।
मोफसलमै पहिलोपटक पत्रकार महिलाहरु संगठित भएर वि.सं.२०६९ सालमा स्थापना गरेको संस्थाले वि.सं.२०७५ साल भदौमा पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने उद्देश्यले २५ लाखको अक्षयकोष स्थापना गरेको थियो ।