झापामा कोरोनाबाट सर्वाधिक मृत्यु दमकमा
दमक । झापाको दमकमा गत बैशाख १० गते पहिलोपटक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी नेपालको ४९ औं कोरोना संक्रमित संगै झापाकै पहिलो संक्रमित थिए । विदेशबाट फर्किएका आफना छोरा घरमा आएपछि बुबामा संक्रमण पुष्टि भएको थियो । त्यसयता दमकमा निरन्तर कोरोना संक्रमण फैलिँदै गयो । पहिलो संक्रमण भेटिएको ठिक ६ महिना अर्थात गत असोज १० मा पहिलो पटक दमककी कोरोना संक्रमित एक महिलाको कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
त्यसपछि ८ महिना वित्दा दमकमा कोरोना संक्रमित हुनेको संख्या १ हजार १४१ पुगेको छ । दमकका ६७९ पुरुष र ४६२ महिलामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये १ हजार ४८ जना कोरोना संक्रमणबाट मुक्त भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
दमकमा संक्रमित हुनेमा सर्वसाधारणदेखि नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित अधिकांश जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीहरु रहे । संक्रमित हुनेमा दमकका १० वटामध्ये तीन जना वडाध्यक्ष रहेका छन् ।
स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार संक्रमित मध्ये हालसम्म ३५ जनाको मृत्यु भएको छ भने २३ महिला सहित ५८ जना हाल उपचाररत छन् । यो मृत्यु संख्या जिल्लाका १५ वटा पालिका मध्ये सवैभन्दा धेरै हो । नगरपालिकाले हाल कोरोना संक्रमणका शकांस्पद विरामीको कोरोना परीक्षण निशुल्क गर्दै आएको छ ।