प्रहरीले बालिकालाई करणी गरेको आरोप

भद्रपुर २४ मंसिर । गौरीगंज स्थित सशस्त्र सीमा सुरक्षा बलमा खटिएका एक प्रहरीले संथाल समुदायका १२ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. २ लालमाटी बस्ने बुद्धीलाल हास्दाकी छोरी १२ बर्षियाबालिकालाई आईतबार राती ९:३० बजे घरमा सुतिरहेको बेला सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) मा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सुर्य कटुवालले जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको हो ।

पिडीत बालिकाका बाबुका अनुसार आइतबार राति ९:३० बजेतिर घरमा सुतिरहेको अवस्थामा घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेका थिए । बालिका चिच्याएको सुनेपछि बालिकाकी आमा घटना स्थल आइपुगेकी थिइन् । आमाले कटुवालको लुगाको कलर समातेर कटुवाललाई बाहिर तानेकी थिइन् । आमालाई हातले झट्काएर कटुवाल घटनास्थलबाट बाहिर राखिएको साईकलमा भागेका थिए ।

घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । ‘घटना थाहा पाएलगत्तै कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ पाण्डेले भने, ‘हामी आन्तरिक अनुसन्धान पनि गरिरहेका छौं । दोषी देखिए कानुनअनुसार कारबाही गर्न कुनै कुराले रोक्ने छैन ।’