सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ

भद्रपुर २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको मङ्गलवार घोषणा गरिएको छ् । नेपाल र चीनले मङ्गलवार संयुक्त रुपमा आयोजित कार्यक्रममा नयाँ उचाइको घोषणा गरेका हुन् ।

नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ । चीनले भने यसअघि सगरमाथाको उचाइ ८,८४४।३३ मिटर रहेको बताउँदै आएको थियो, जुन उस्का अनुसार चट्टानको उचाइ थियो । नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रुपमा प्रशोधन गरी अन्तिम रुप दिएको भनिएको सगरमाथाको उचाइलाई अनुमोदन गर्ने निर्णय नेपालको मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले गरेको थियो ।

नेपालले सगरमाथाको उचाइ नापेको यो पहिलो पटक हो । सगरमाथापछिको सबैभन्दा अग्लो हिमाल केटुको उचाइ ८,६११ मिटर रहेको छ जुन पाकिस्तान–चीन सिमामा पर्दछ ।

सगरमाथाको उचाइ नाप्न नापी प्राविधिक पहिलो पटक टुप्पैसम्म पुगेकाहुन् । बेइजिङ र काठमाडौँमा एकसाथ कार्यक्रम गरेर उचाइ सार्वजनिक गरिएको हो । नेपालका तर्फबाट उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, परराष्ट्र मन्त्रालय तथा नापी विभागका उच्च अधिकारीहरु सहभागी थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सगरमाथाको हिउँ सहितको नयाँ उचाइ सार्वजनिक गरेका थिए ।

राष्ट्रपति विद्यादेबी भण्डारीले यसलाई ऐतिहासिक उपलब्धि भन्दै चीन र नेपाल दुवै सरकारलाई बधाई दिएकी थिइन् ।

(बीबीसी)