जग्गा कित्ताकाट गर्न पाउने निर्णय सर्वौच्चद्वारा खारेज
भद्रपुर २३ मंसिर । सरकारले गत भदौ १८ गते जग्गाको कित्ता काट गर्न पाइने निर्णयलाइ सर्र्वाेच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश मनोज शर्माको इजलासले जग्गा रोक्काको निर्णय खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै उक्त निर्णय जारी गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ । अधिवक्ता सन्तोष भण्डारीले दिएको रिटमाथि दुवै पक्षको बहस सुनेर सर्वोच्चले यस्तो निर्णय गरेको हो ।
रिट निवेदक अधिवक्ता भण्डारीले भने, ‘कृषि योग्य जमिन मास्ने गरी सरकारले गरेको कित्ताकाटको निर्णय खारेज गर्न हामीले माग गरेका थियौं । हाम्रो रिटमाथि सुनुवाइ भयो हाम्रो माग अनुसार रिट जारी भयो,’ । भू–उपयोग ऐन २०७६ दफा ८ ले जुन प्रयोजनको लागि तोकिएको जग्गा हो, त्योबाहेक अर्को कामका लागि उक्त जग्गा प्रयोग गर्न नपाइने भनेको छ ।
सरकारको कित्ताकाट गर्ने निर्णय कानुनविपरीत भएको भन्दै अधिवक्ता भण्डारीले रिट दायर गरेका थिए । भूमि व्यवस्था मन्त्रालयले गत भदौ १८ गते जग्गाको कित्ता काट गर्न पाइने निर्णय गरेको थियो ।