शिक्षकमा कोरोना संक्रमण भएपछि विद्यालय बन्द
झापा २३ मंसिर । विद्यालयका शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि झापाको हल्दिवारी गाउँपालिका वडा नं. ४ स्थित महेन्द्र मावि मंगलबारदेखि बन्द भएको छ । यो संगै शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर हल्दिवारीमा बन्द हुने विद्यालयको संख्या तीन पुगेको छ । यसअघि हल्दिबारी–२ स्थित हल्दिबारी मावि र हल्दिबारी–५ को धनुषा आधारभूत विद्यालयका शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि ती दुई विद्यालय पनि बन्द रहेका छन् ।
सरकारले विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएपछि हल्दिबारी गाउँपालिकाको निर्देशनमा गत मंसीर १५ गतेदेखि भौतिक रुपमै शिक्षक र विद्यार्थीका उपस्थितिमा ६ कक्षादेखि माथि तह भएका विद्यालयहरु सञ्चालनमा आएका थिए । २०७६ साल चैतदेखि बन्द रहेका विद्यालयहरु पुनः सञ्चालनमा आएपनि विद्यार्थीको न्यून उपस्थिति रहँदै आएको थियो ।
उपस्थित विद्यार्थीहरुलाई दुई चरणमा प्रति बेन्च एकजनामात्र विद्यार्थी राखेर पठन पाठन सुचारु गर्दै आइए पनि शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि मंसीर ३० गतेसम्मका लागि विद्यालय बन्द गरिएको महेन्द्र मावि बडाबारीका शिक्षक सिताराम खरेलले बताए । १७ वटा सामुदायिक विद्यालय रहेको हल्दिवारीका कक्षा ६ देखि माथि पढाई हुने ६ वटा विद्यालयमा मंिसर १५ देखि पढाई शुरु भएको थियो ।