हुलाकी राजमार्ग दुई वर्षभित्रमा सञ्चालनमा आउने

भद्रपुर । झापाको भद्रपुरदेखि सप्तरीसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्ग करिब ४८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र दुई वर्षभित्रमा सडकको काम सम्पन्न गर्ने आयोजना प्रमुख दीपेन्द्र पाण्डेले बताए । रङ्गेलीको केही स्थानमा निर्माण डिजाइन अनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको पाण्डेको भनाइ छ । महेन्द्र राजमार्गपछि दोश्रो महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माणका लागि दक्षिणी भेगका जनताले वर्षौंदेखि आवाज उठाइरहेका छन् । यो राजमार्ग निर्माण भएपछि महेन्द्र राजमार्गको भारमा कमी आउने र दक्षिणी क्षेत्रका जनताको जीवनस्तरमा पनि परिवर्तन आउने छ ।