आजको स्थायी समितिको बैठकमा गएनन् प्रम ओली
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहभागिता बिनै अघि बढेको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएनन् । उनले स्थायी समिति बैठकको औचित्य नभएको भन्दै सो बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका छन् ।
शनिबारको सचिवालय बैठकमा ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । सचिवालय बैठकमा बोल्दै ओलीले अधिकांश सदस्यहरुले सचिवालयबाट निकास ननिस्केपछि दुवै अध्यक्षका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्न दिएको सुझावलाई प्रतिवाद गर्दै स्थायी समितिलाई ‘रत्यौली’को संज्ञा दिएका थिए ।
आजको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी समितिमा पार्टीको आन्तरिक समस्याबारे छलफल भएको जानकारी दिए । बैठकमा सहभागी नभएका ओलीले स्थायी समितिलाई सम्बोधन गरेर पत्र पठाएको उनले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत आएको सो पत्रमा प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने ओलीले धारणा राखेका थिए ।
ओलीको असन्तुष्टिका बीच बैठकमा ओली र प्रचण्डको यसअघिको दुबै प्रस्ताव पेश भएको छ भने सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अर्को बैठक २८ गतेका लागि बोलाइएको र यसअघि नै तय भएको मंसिर २५ को केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको पनि श्रेष्ठले जानकारी दिए ।