नेपाली कांग्रेस झापाले मंसिर २९ गते मोटरसाइकल र्‍याली गर्ने

भद्रपुर २१ मंसिर । नेपाली कांग्रेस झापाले आगामी मंसिर २९ गते झापामा मोटरसाइकल र्‍याली गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्य समितिको आज विर्तामोडमा बसेको बैठकले केही दिन अघि तनहुँमा वर्तमान सरकारले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार र दुर्व्यवहार गरेको घटनाको विरोधमा र्‍याली र सभा गर्ने निर्णय गरेको पार्टीका एक पदाधिकारीले बताए ।

मोटरसाइकल र्‍यालीको रुट तय नभइसकेको र विरोध सभाको स्थान मुक्ति चोक हुने कांगेस पदाधिकारीले बताए । बैठकले नेकपा सरकारको जनविरोधी गतिविधि र भ्रष्टाचारविरुद्ध झापामा आयोजना हुने विरोध र्‍याली र सभालाई भब्य र वृहत बनाउन पार्टीका कार्यकर्ता, शुभेच्छुक र भ्रातृ संगठनहरुलाई सशक्त रुपमा परिचालन गर्ने उनले जानकारी दिए । देशब्यापी रुपमा सरकारको विरोधलाई आन्दोलनमा रुपमा कांग्रेसले लैजाने भएको छ । सो दिन देशका सतहत्तरै जिल्लामा विरोध प्रदर्शन हुने भएको छ ।