चालक अनुमतिपत्रको नयाँ प्रक्रिया खुल्ने

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ । ‘नयाँ लाइसेन्सको आवेदन खुल्ला गर्ने,परीक्षा सञ्चालन गर्ने र यातायात सम्बन्धी नवीकरण, दर्ता लगायतका अधिकार विभागले सम्बन्धीत प्रदेशहरुलाई नै दिइसकेको छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले समेत केहि दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाइने गरी तयारी थालिएको जनाएका छन् । कोभिड–१९ को प्रकोपसँगै गत चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउनमा गएसँगै नयाँ लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा प्रभावित हुँदै आएको छ ।