सरकारद्वारा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्वीकार

काठमाण्डौ । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको पाइएकोले अस्वीकार गर्ने बताएको छ । सरकारका प्रवक्ता, सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरूङले आज पत्रकार सम्मेलनमा भने, ‘हालै सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन राजनीतिक र पूर्वाग्रहबाट प्रेरित तथा खोज अनुसन्धानविनै मनोगत धारणाबाट आएकोले सरकार अस्वीकार गर्दछ ।’ यस्ता पूर्वाग्रहपूर्ण प्रतिवेदन सरकार र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीप्रति भ्रम छर्ने खालको भएकोले अस्वीकार गर्ने उनले बताएका छन् । ‘आधारविहीन र तथ्यहीन प्रतिवेदन आएको छ,’ उनले भने, ‘यो आफैंमा विवादित छ । तीन करोड जनसंख्यामा एक हजार जनालाई टेलिफोनबाट जानकारी लिएको आधारमा प्रतिवेदन तयार पारिएको छ ।’

सरकार विरोधीलाई सोधेर प्रतिवेदन तयार पारेको आरोपसमेत उनले लगाएका छन् । ‘सरकारविरूद्ध मिसनका रूपमा प्रचार सामग्री तथा प्रतिवेदन तयार पारिएको छ । सरकारलाई बदनाम गर्न खोजिएको छ,’ उनले भने, ‘प्रतिक्रियावादीहरूले कतै शीर ठाडो पार्न यस्ता प्रतिवेदन तयार भएको त होइन ?’

खोज तथा अनुसन्धानविना र प्रमाणित नभएका तथ्यहीन प्रतिवेदन नियोजित ढंगबाट आएकोले सरकारले असहमति राखेको मन्त्री गुरूङले बताए । ‘आफैंमा विवादित प्रतिवेदन सरकार अस्वीकार गर्छ,’ उनले भने ।

सरकारले गरेको समृद्धिको यात्रा अस्वीकार गर्ने, सरकारविरोधीले तयार पारेको प्रतिवेदन स्वीकार गर्ने उनले बताए । प्रतिवेदन तयार पार्ने व्यक्ति राजनीतिक रूपमा चिनिएको मानिस भएकोले पनि सरकारले प्रतिवेदन अस्वीकार गरेको उनले बताए ।

हालै सार्वजनिक ट्रान्सपरेन्सीको भ्रष्टाचारसम्वन्धी रिपोर्टले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सहकर्मीको भ्रष्टाचारका विषय ढाकछोप गर्न खोजेको औंल्याएको छ ।