रुसी साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादन हुने

एजेन्सी

रुसी कोरोना भ्याक्सिन उत्पादक कम्पनीले स्थानीय साझेदारमार्फत भारतमै भ्याक्सिन उत्पादन गर्ने घोषणा गरेको छ । स्पुतनिक भी नामको उक्त भ्याक्सिन उत्पादनका लागि भारतको हेटेरो नामक औषधि उत्पादक कम्पनीसँग साझेदारी थालिएको हो ।

‘हेटेरो भारतको अग्रणी औषधि उत्पादक कम्पनीमध्येको हो । हेटेरोसँग बर्सेनि १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने सम्झौता भएको छ’‚ रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड(आरडिआइएफ)ले शुक्रबार एक वक्तव्य जारी गर्दै भनेको छ । आरडिआइएफले उक्त भ्याक्सिनको बजार प्रवर्धनमा भूमिका खेल्दै आएको छ । आरडिआइएफको वक्तव्यमा सन् २०२१ को प्रारम्भबाटै भारतमा भ्याक्सिनको उत्पादन थालिने अपेक्षा लिइएको उल्लेख छ ।

रुसले उक्त खोप ९५ प्रतिशत प्रभावकारी ठहरिएको दाबी गर्दै आएको छ । पाँच महिना लामो पटकपटकको परीक्षणपछि रुसले यस्तो दाबी गरेको हो । यद्यपि‚ तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी छ । ४० हजार जनामाथि जारी अन्तिम परीक्षणको नतिजा केही दिनमै आउने अपेक्षा गरिएको छ ।

भ्याक्सिन उत्पादक कम्पनीले स्पुतनिक भी अन्यभन्दा सस्तो हुने बताएको छ । कम्पनीका अनुसार‚ अन्तर्राष्ट्रिय बजारमा स्पुतनिक भी प्रतिडोज १० अमेरिकी डलर (झण्डै ११८० रुपियाँ) मा उपलब्ध हुनेछ।

भारतबाहेक चीन‚ दक्षिण कोरिया‚ ब्राजिल लगायतका देशमा पनि स्पुतनिक भीको उत्पादन हुनेछ । ‘यो भ्याक्सिन आफ्नो जनसंख्यालाई कोरोना भाइरसबाट जोगाउन चाहने प्रत्येक देशको भ्याक्सिन कार्यक्रमको अभिन्न अंग बन्नुपर्छ भन्नेमा म विश्वस्त छु’‚ आरडिआइएफका प्रमुख किरिल दिमित्रेभले वक्तव्यमा भनेका छन् ।