मङ्सिर २० मा झापामा वृहत् र्याली
दमक । झापा। राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा स्वतःस्फूर्त रूपमा देशभर भइरहेको र्यालीप्रति ऐक्यबद्धता जनाउँदै राप्रपा झापाले पनि वृहत् मोटर साईकल र्याली गर्ने भएको छ । राजसंस्था र हिन्दु राष्ट्रको पुनः स्थापना,सङ्घीयताको खारेजी,भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदबाब सिर्जना गर्न राप्रपा झापाले मङ्सिर २० गते विशाल मोटर तथा मोटरसाइकल र्याली आयोजना गर्ने निर्णय गरेको छ ।
समान विचार राख्ने सबै व्यक्ति, संस्था, सङ्गठन र पार्टीहरूलाई राष्ट्रिय झन्डा र आआफ्नो संस्था,सङ्गठन र पार्टीको झन्डा सहित उक्त रलीमा सहभागी हुन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले अपिल गरेका छन् ।
र्याली व्यवस्थापनको लागि राप्रपा झापाले ध्रुव उप्रेती संयोजक र राजकुमार राईको सह–संयोजकत्वमा रयाली परिचालन समिति गठन गरेको छ । त्यस्तै जिल्ला अध्यक्ष अम्बर विष्टको संयोजक रहेको निर्देशन परिचालन समिति, उपाध्यक्ष कमल खरेलको संयोजनमा आर्थिक व्यवस्थापन समिति र मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाईँको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
मङ्सिर २० गते आयोजना गरिएको मोटर तथा मोटरसाइकल र्याली काँकडभिट्टावाट सुरु भई दमकसम्म पुग्ने जनाइएको छ । सबै गाउँ नगर क्षेत्रीय समितिको बैठक बसी २० गते आआफ्नो गाउँ नगरबाट सहभागी हुने मोटरसाइकलको विवरण जिल्ला समितिमा पठाउन भनिएको सचिव केशव ओझाले जानकारी दिए । साथै विभिन्न धार्मिक सङ्गठन समूह सँग समेत समन्वय गरी व्यापक सहभागिता जुटाउन सबै क्षेत्रबाट क्रियाशील समेत राप्रपा झापाले अनुरोध गरेको छ ।