कीर्ते गरेको अभियोग नेकपा नेता पक्राउ
भद्रपुर । झापा दमक निवासी नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । दमक नगरपालिका ६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ । उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक्राउ गरेको हो ।
दमक नगरपालिका ८ (साबिक १३) को १० बिगाहा ८ कठ्ठा जग्गा आफ्नो नाममा ल्याएर बिक्री वितरण गरेको अभियोगमा पुरीमाथि विभागले अनुसन्धान गरिरहेको बताइएकोे छ । यो अभियोगमा उनी यसअघि अदालतबाट धरौटीमा छुटेका थिए । तीन महिना फरार भएका उनी २०७७ चैत ७ गते जिल्ला अदालतमा हाजिर हुन पुगेका थिए । सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई एक लाख ८० हजार धरौटीमा रिहा गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई अदालतमा पुर्याएको थियो । गत पुसमा पक्राउ पूर्जी जारी भएका पुरी प्रहरीबाट छलिँदै आएका थिए ।
प्रहरीको अनुसन्धान अनुसार दुई नम्बर नापी टोली चन्द्रगढी र नापी कार्यालय दमकका कर्मचारीको मिलेमतोमा पुरीले सरकारी जग्गा हडपेका हुन् ।
पुरीले उक्त जग्गा आफू, आफन्त र नातेदारको नाममा ल्याई विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानमा उक्त जग्गा १४८ जना व्यक्तिलाई नामसारी तथा बिक्री गरेको देखिएको छ । उक्त कार्यमा संलग्न कर्मचारी केहीलाई अदालती, केहीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र पुरीसहितका जग्गाधनीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अन्तर्गत कारबाहीको मागदाबी लिइएको छ ।
मुलुकी अपराध संहिता(२०७४ को लिखत सम्बन्धीको कसुरअनुसार उक्त जग्गामा आरोपितहरूलाई सरकारी बिगो दुई करोड ६९ लाख ५५ हजार ५८१ रूपैयाँ कायम गरिएको छ ।