मुक्तिचोकमा पुष्परोपण, बोलेनन् मन्त्री
झापा ९ मंसिर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्ति र अधिकारका लागि बोल्ने मुख्य थलोको रुपमा परिचित छ । यो चोकमा उभिएर नबोल्ने शायद कमै होलान् । त्यसमा पनि राजनीति गर्ने राजनीतिकर्मीका लागि मुक्तिचोक तीर्थस्थल नै हो भन्दा फरक पर्दैन । २०६२र०६३ को जनआन्दोलनको सफलतापछि जनताले विजय प्राप्त गरेको प्रतिकका रुपमा निर्माण गरिएको हुनाले पनि मुक्तिचोक राजनीतिकर्मीका लागि तीर्थस्थल हो । प्रमुख अतिथि भएर मुक्तिचोकमा उभिएपछि जनतालाई आस्वस्त पार्ने कुनै कुनै भनाइहरु राखेर जाने नेता तथा मन्त्रीको परम्परालाई मंगलबार संघीय सरकारका शहरी विकास मन्त्रीले तोडे ।
वीरता लेडी जेसीजले मुक्तिचोकको स्तम्भ वरीपरी पुष्परोपण कार्यक्रमको प्रमुख अतिथि रहेका संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ दुर्गा मन्दिरबाट पुष्पको विरुवा आफैं हातमा लिएर मुक्तिचोक पुगे । श्रेष्ठले पुष्पको विरुवा रोपी सकेपछि लेडी जेसीजकी अध्यक्ष शुष्मा पौडेलले प्रमुख अतिथिलाई केही कुरा राखिदिन आग्रह गरिन् । अध्यक्ष पौडेलले उपस्थित पत्रकारहरुको समेत चाहनालाई सम्बोधन गर्दै मन्त्रीलाई बोल्न आग्रह गरेकी थिइन् ।
तर, मन्त्री श्रेष्ठले मात्र पुष्परोपण जस्तो पवित्र कार्य गरेकोमा जेसीजलाई धन्यवाद दिए । मन्त्रीले के बोल्छन् भनेर तेर्सिएका क्यामेरा र उपस्थितले मन्त्रीको मन्तव्यबारे मेसो नै पाएनन् ।
गत असोज ११ गतेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा परिपत्रलाई र मुक्तिचोकमा उभिएर मन्त्रीले केही पनि नबोल्नु अर्थपूर्ण रहेको मानिएको छ ।
पूर्व–पश्चिम मुख्य मार्ग, झापाको मुख्य बजार विर्तामोडको मुटुमा रहेको यो चोक अधिकार खोज्नेदेखि अधिकार प्राप्तीको खुशीयाली मनाउने थलो पनि यही हो । त्यही थलोको संरक्षण संवद्र्धन र सुन्दर बनाउने जिम्मेवारी पनि झापाबासीकै जिम्मेवारी भएको भन्दै लेडी जेसीजले मुक्तिचोकलाई सिंगार्ने काम गरेको अध्यक्ष पौडेलले बताइन् ।
भौतिक संरचना गरिएपनि निरन्तर संरक्षणमा कमी आउँदा उराठ लाग्दा गमला मात्रै रहन पुगेको थियो । तिनै उराठ लाग्दा गमलालाई फुलले रङ्ग्याउँदै विर्ता लेडी जेसीजले मंगलबार गमलादेखि माटोसम्म परिवर्तन गरि फूल रोपण गर्दै त्यसको मुख्य रेखदेखको जिम्मेवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अध्यक्ष पौडेलले अनुरोध पनि गरिन् । मन्तव्यकै क्रममा उनले भनिन्–‘नगरपालिकाको सहयोगमा एक क्वायल पाइप ट्राफिकलाई हस्तान्तरण गर्छौ, नजिक भएको नाताले तपाईहरुले रेखदेख र पानी हाल्ने जिम्मेवारी लिइदिनुहोला, हामी पनि उपस्थित भएर संरक्षणमा लाग्नेछौं ।’ उनले थपिन्–‘फूल फुले मात्रै आफू फुले जस्तै अनुभव हुन्छ, यो सबै झापाबासीको जिम्मेवारी पनि हो ।’
वीरता लेडी जेसीजले मंगलबार मुक्तिचोकमा पुष्प रोपण र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश जवेगुलाई ट्राफिक सर्तकता सम्बन्धी सचेतनामुलक नारा लेखिएका बोर्ड प्रदान गरेको छ ।
सो अवसरमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजाल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीजका पूर्व अध्यक्षहरुका तर्फबाट पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए । महासचिव संगिता गिरीले सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन शिला उप्रेती र स्वागत रोजिना पाण्डेले गरेका थिए ।