श्री सदन सर्वसाधरणका लागि खुला
स्व. राजा वीरेन्द्र वीरविक्रम शाहले प्रयोग गरेको निवास श्री सदन सर्वसाधरणका लागि खुला गरिएको छ । दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि श्री सदनमा ताला लागेको थियो । अब आमजनताले नारायणहिटी दरबार, श्रीपेचसँगै राजा वीरेन्द्र र उनको परिवारले प्रयोग गरेको निवास अवलोकन गर्न पाउनेछन् ।
५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको छ श्री सदनमा राजा वीरेन्द्र र रानी ऐश्वर्यले प्रयोग गरेका सामग्रीहरू छन् । नारायणहिटी संग्रहालयबाट महेन्द्र मञ्जिल हुँदै श्री सदन पुगिन्छ । नेपालको राजसंस्थासँग जोडिएका अन्य ऐतिहासिक पुरातात्विक वस्तु यहाँ छन् ।
श्री सदनभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ। सदनको निर्माण २०२३ सालमा भएको हो । उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्पराअनुसार वीरेन्द्रका लागि श्री सदन बनेको थियो। स्व। मोतीरत्न स्थापितको नेतृत्वमा श्री सदन निर्माण भएको हो । नेपाली शैलीको यो भवनमा टायल, काठ, सिमेन्ट, देवीदेवताका मूर्ति कुँदिएका ढोकाहरू छन्। सात रोपनी पाँच आना जग्गामध्ये ७ आना दुई पैसा क्षेत्रफलमा यो भवन ठडिएको छ ।