उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन
छठ पर्वमा भद्रपुरस्थित मेची किनार रौनक बिहीन
सन्दर्भ समाचारदाता
भद्रपुर । लोक आस्थाको महापर्व छठका व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरेका छन् । छठ पर्वको विधि अनुसार, चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ ।
छठको समापनमा व्रतालुले नदी, ताल, खोला अथवा पोखरीमा दुवै हत्केलामा पिठा र सिन्दूर लगाई अक्षता, फूल लिई बनाइएको विशेष प्रकारको पकवान ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठ पर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
पहिलो पटक भद्रपुरस्थित मेची किनार रौनक बिहीन
जनकपुर पछिको दाश्रो एवम् प्रदेश १ को सर्वाधिक ठूलो घाट मानिएको भद्रपुर स्थित मेची किनारमा पहिलो पटक छठ पूजाको रौनक बिहीन नदी किनार बन्यो । कोभिड १९ संक्रमणको जोखिमलाई ख्याल गर्दै भद्रपुर नगर सरकारले नदीनाला किनारमा सार्वजनिक छठ पूजा मण्डप निर्माण नगर्ने घोषणा गरेसंगै पाँच दशकयता पहिलो पटक मेची नदी किनारमा छठ पर्व रौनक विहीन भएको हो ।
हरेक वर्ष भद्रपुर नगरपालिका संरक्षक रहने र मैथिली समाज आयोजक बनेर करिव ३ किलोमिटर क्षेत्रमा हजारौं पूजा मण्डप निर्माण हुने मेची नदी छठ पूजाका लागि प्रदेश २ को जनकपुरपछिको दोश्रो ठूलो पूजा स्थलको पहिचान बन्ने गरेको थियो । छठ पर्व मनाउने अधिकाम्सले घर परिसरमै खाडलमा पानी भरेर पूजा गरेकाछन् भने नेपाल भारत दुवै देशका भक्तजनको भीड लाग्ने भद्रपुर स्थित मेची नदी रौनक बिहीन बनेको छ ।
तस्विर : विगम श्रेष्ठ