कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन
झापा ३० कात्तिक । कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन भएको छ । दमक नगरपालिका, बुद्धशान्ति र झापा गाउँपालिकाका व्यक्तिको मृत्यु भएको हो । झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ३६ वर्षिय बिशाल विक रहेका छन् ।
दमक नगरपालिकाको कोभिड हस्पिटलबाट उपचारका लागि विराटनगरतर्फ लादै गर्दा उनको बिहान ११ बजे बाटैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । मृतकको शवलाई अहिले कनकाई माईमा नेपाली सेनाले अन्त्येष्टि गरिरहेको उनले जानकारी दिए ।
त्यस्तै गएराति मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएकी महिला बुद्धशान्ति गाउँपालिकाको भएको खुलेको छ । यसअघि मेचीनगर ७ ठेगाना भएको बताइएकोमा उनको घर बुद्धशान्ति गाउँपालिका ३ मा भएको गाउँपालिका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । ती महिलाको शव नेपाली सेनाले अन्त्येष्टि गरेको उनले बताए ।
बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो । झापामा आज तीन जनाको मृत्यु भएको छ । आजै झापा गाउँपालिका ५ की २४ वर्षिया गीता राजवंशीको धरानमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८१ पुगेको छ ।