नेवार समुदायको म्हः पूजा
झापा, ३० कात्तिक । नेवार समुदायले आइतबार म्हः पूजा गरेका छन्।
नेवारी भाषामा शरीरलाई म्ह: भनिन्छ । अर्थात आफ्नो शरीरको पुजा गर्नु हो म्ह: पुजा । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ। आज नेपाल सम्वत ११४१ को पहिलो दिन कोरोना संक्रमणको कारणले भिन्तुना कार्यक्रम अघिल्ला बर्ष झै रोनक नभएपनि विभिन्न कार्यक्रमका साथ देशभर विविध कार्यक्रम गरी मनाइएको छ।
किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ।
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ।
शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक
विश्वास छ।
म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ। मण्डलामा खाने तेलको सानो घेरालाई बीचमा पारी आ-आफ्नो रिति अनुसार क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा पनि हालिन्छ।
परिवारका सबै सदस्यलाई पुग्नेबाहेक म्हःपूजा गर्न बस्ने थकालीभन्दा अगाडि सुकुन्दा, त्यसपछि धर्मदूत र अन्त्यमा कर्मदूतको लागि भनेर पनि मन्डला बनाइन्छ । घरमा भएका नाङ्लो, कुचो, जाँतो, घ्याम्पो, घडा आदिका लागि पनि मन्डला बनाइन्छ।
मन्डलाहरुको अगाडि परिवारको जेठोदेखि क्रमबद्ध भएर परिवारका सबै सदस्य बसेपछि परिवारका मूलीले सबैलाई पूजा गर्दै रातो अक्षताको टीका लगाइदिन्छन्।