झापामा थपिए ४४ संक्रमित २ को मृत्यु
भद्रपुर २७ कात्तिक । झापामा आज कोरोना संक्रमण बाट दुइ जनाले ज्यान गुमाएका छन् । योसंगै झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ । यसैगरी झापामा आज २० महिला र २४ पुरुष गरी ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा कोरोना बाट संक्रमित हुने र मृत्यु हुनेको संख्या दमक नगरपालिकामा अन्य स्थानीय तहमा भन्दा उच्च रहेको छ । झापामा कोरोना बाट ज्यान गुमाउने मध्यै दमक नगरपालिकाका २६ जना रहेका सो नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताएका छन् । उनका अनुसार कोरोना संक्रमणबाट दमकमा मृत्यु हुने क्रम बढ्दै गएको छ । पछिल्ला दुई साता यता दमकमा दैनिक जसो एक,दुई जना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको हो । आज विहान थप एक जना संक्रमित बृद्धको घरैमा मृत्यु भएको छ । दमकका मदिरा व्यवसायी नारायण केसीका पिता ८७ बर्षिय बीर बहादुर केसीको आज बिहान करिब ५ बजे होम आइसोलेसनमै मृत्यु भएको हो । यसअघि हिजो बुधबार साँझ दमक उद्योग वाणिज्य संघकै कानुनी सल्लाहकार सदस्य समेत रहेका अधिबक्ता मोहन अधिकारीकी पत्नी गीता कार्की अधिकारीको पनि कोरोना संक्रमणकै कारण विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका भट्टराईले बताए ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेको संख्या सवैभन्दा बढी दमक नगरपालिकामा ११ महिला र ६ पुरुष रहेका छन् । यसैगरी बिर्तामोडमा २ महिला, गौरादह नगरपालिकामा २ महिला २ पुरुष, मेची नगरपालिकामा १ महिला, हल्दिबारी गाउँपालिकामा १ पुरुष, अर्जुनधारा नगरपालिकामा १ महिला कचनकवल गाउँपालिकामा १ पुरुष, कमल गाउँपालिकामा २ महिला २ पुरुष र झापा गाउँपालिकामा २ पुरुष रहेका छन् ।