इन्डियन प्रिमियर लिग क्रिकेटकोे फाइनल आज
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औं संकरणको फाइनल आज हुँदै छ । उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्ने छन् ।
यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल राति पौने आठ बजे सुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो भने दिल्लीलाई नै हराउँदै मुम्बई फाइनल प्रवेश गरेको हो ।
यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् ।