चारित्रिक प्रमाणपत्र लिदा ४ हजार शुल्क
भद्रपुर २५ कात्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० मा रहेको बालनिकुञ्ज माविले एसईई उत्तीर्ण विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र दिदा चर्र्को शुल्क लिएको गुनासो बढेपछि नेविसंघ झापाले विद्यालयमा तालाबन्दी गरेको छ ।
विद्यालयबाट चारित्रिक प्रमाणपत्र दिदा विद्यार्थीबाट ४ हजार रुपैयाँ शुल्क लिएको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएपछि नेविसंघ झापाका सचिव विनोद खरेलको नेतृृत्वमा विद्यालयमा पुगेको विद्यार्थीहरुको टोलीले तालाबन्दी गरेको हो । नेविसंघ झापाका अर्जुन भटराई, अशोक पाठक, रविन घिमिरे, सविन बस्नेत लगायत विद्यार्थीको टोलीले विद्यालयमा तालाबन्दी गरेको हो ।
तालाबन्दीपछि नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले सरकारी विद्यालयमा कुनै शुल्क नलिई शिक्षा प्रदान गरिनुपर्ने र चारित्रिक प्रमाणपत्र बनाउँदा समेत २ सय देखि ५ सय रुपैयाँसम्म मात्रै शुल्क लाग्ने भनिरहँदा यति महंगो शुल्क लिनु आफैमा दुःखद भएको जनाएका छन् ।
झापाका अन्य कुनै पनि विद्यालयमा यसप्रकार मनोमानी ढंगबाट शुल्क लिएको पाइए नेविसंघ झापालाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्तिमा यस्ता विद्यालय विरुद्ध जस्तोसुकै आन्दोलन गर्नेसमेत उल्लेख गरिएको छ ।
कनकाई माईको बाढीले विस्थापित बनेका प्रेमप्रसाद उप्रेतीले आफ्नो छोरा अर्जुनको चारित्रिक प्रमाणपत्र लिन त्यत्ति महंगो शुल्क तिर्न नसक्ने जनाएपछि उक्त घटना बाहिर आएको हो । उनले आफन्तकहाँ सानोतिनो काम गर्दै पढ्न छोरालाई काठमाडौं पठाउनका लागि चारित्रिक प्रमाणपत्र लिन जाँदा विद्यालयले चारहजार शुल्क मागेको जनाए ।
उप्रेतीका परिवारले शुल्क महंगो भएको गुनासो गर्दै वार्ड कार्यालयमा निवेदन दिएपछि उप्रेतीको परिवार बाढीपीडित भएकाले निशुल्क चारित्रिक प्रमाणपत्र दिने आशयको सिफारिस वार्ड कार्यालयले बनाइदिएको थियो । तर वार्डको सिफारिस नमान्ने भन्दै विद्यालयका प्रधानाध्यापक भीम सुब्बाले रकम लिएरै प्रमाणपत्र लिन आउन भनेको अर्जुनका बुवा प्रेमप्रसाद उप्रेतीले गुनासो गरेका हुन् ।
यता विद्यालयका प्रधानाध्यापक सुब्बाले भने विद्यालय ब्यवस्थापन समितिले नै चारित्रिक प्रमाणपत्र दिन विद्यार्थीसँग तीनखाले शुल्क निर्धारण गरेको जानकारी दिएका छन् ।