दमकको बेलडाँगीमा कोभिड उपचार केन्द्र
भद्रपुर २४ कात्तिक । झापाको दमक नगरपालिका २ स्थित बेलडाँगीमा कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ । लामो समयको तयारी पछि दमक २ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुननिर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ ।
सो उपचार केन्द्रको प्रदेशसभा सदस्य अर्जुन राईले औपचारिक रुपमा उदघाटन गरे । उद्घाटन गर्दै उनले विश्वभर फैलिएको कोरोना महामारीसंग जुध्न सबै शक्ति एक ठाँउमा उभिने बेला आएको बताए ।
अक्सिजन सहितको ३० बेडको सो उपचार केन्द्रमा ४ बेड एचडियु रहने नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । यस क्षेत्रका संक्रमितहरुको उपचारका लागि सो केन्द्रले सहयोग पुरयाँउने उनले वताईन् । यसअघि दमकमा दमक ४ स्थित दाहाल प्रतिष्ठान,दमक १० को विज्ञान पार्कको प्रशासनिक भवन ,दमक अस्पताल र आम्दा अस्पतालमा कोभिड आइसोलेसन सञ्चालन हुदैआएका थिए ।