एक्जिट पोलहरूको सर्भेक्षण अनुसार भारतको विहारमा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने
भद्रपुर । एक्जिट पोलहरूले भारतको विहार राज्यमा लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् । शनिबार सार्वजनिक भएका प्रक्षेपणमा सत्तासीन मुख्यमन्त्री नितिश कुमार र भारतीय जनता पार्टी गठबन्धनलाई तेजश्वी गठबन्धन धक्का दिने देखाइएको छ । बिहारमा शनिबार तेस्रो चरणको विधान सभा निर्वाचन सम्पन्न भएको छ ।
एनडिटिभीको एक्जिट पोलअनुसार तेजश्वी नेतृत्वको विपक्षी गठबन्धनले २४३ मध्ये १ सय २८ सिटमा बहुमतसहित जित हासिल गर्ने र एनडिए गठबन्धनले ९९ सिट ल्याउने छ । यसैगरी चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टीले ६ सिट ल्याउँने आँकलन गरिएको छ ।
बिहारमा सरकार गठनका लागि कुनै पनि पार्टी वा गठबन्धनलाई १ सय २२ सिट आवश्यक पर्छ । द इण्डिया टुडे एक्सिज माइ इण्डिया पोलले महागठबन्धनलाई १ सय ६१ सिटमा १३९ सिट र नितिश बिजेपी गठबन्धनले ६९ देखी ९१ सिट ल्याउने जनाएको छ भने एलजेपीले ३ देखि ५ सिट जित्ने बताएको छ ।
यस्तै टाइम्स नाउ सी भोटर अनुसार एनडिएले ११६ र विपक्षी गठबन्धनले १ सय २० सिट जित्ने प्रक्षेपण गरेको छ । उसले चिरागको पार्टीले एक सिट जित्ने अनुमान गरेको छ ।
त्यसैगरी रिपब्लिक टिभीले विपक्षीलाई ११८ देखी १३८ सिट प्राप्त हुने र सत्ताशिन एनडिएले ९१ देखी ११७ सिट ल्याउने बताएको छ भने चिरागको पार्टीले ५ देखि ८ सिटमा जित हासिल गर्ने जनाएको छ ।
विहार निर्वाचनको अन्तिम परिणाम मंगलबार घोषणा हुनेछ । एक्जिट पोल अनुसारकै नतिजा आएमा नितिश कुमारको लगातार चौथो पटक मुख्यमन्त्री बन्ने चाहानामा धक्का लाग्नेछ । बेरोजगारी, आप्रवासन समस्या, कोरोना तथा बाढी व्यवस्थापनमा नितिशले आलोचना खेप्दै आएका छन् र यिनै उनको हारको कारण हुनेछ ।
६९ वर्षीय नितिशले अन्तिम समयमा नाटकिय ढंगले यो नै आफू लड्ने अन्तिम निर्वाचन भएको घोषणा गरेका थिए ।
यसपालि बिहार चुनावमा ६९ वर्षीय नितिश कुमारलाई टक्कर दिँदैछन्, ३२ वर्षीय तेजश्वी यादवले । भ्रष्टाचारको अभियोगमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मुख्यमन्त्री लालु यादवका कान्छा छोरा हुन् तेजश्वी । उनी सन् २०१५ मा नितिश कुमारको सरकारमा उप(मुख्यमन्त्री थिए । त्यो बेला नरेन्द्र मोदीको हिन्दुवादी पार्टीलाई रोक्न भनेर नितिश कुमारको जनता दल संयुक्त (जेडियु) र लालुको राष्ट्रिय जनता दलले (आरजेडी) मिलेर चुनाव लडेका थिए । सो गठबन्धनले चुनाव जितेपछि नितिश मुख्यमन्त्री बने भने तेजश्वी २६ वर्षकै उमेरमा उप(मुख्यमन्त्री बनेका थिए ।
सत्तामा पुगेपछि र भ्रष्टाचारको विषयमा यादव परिवार जोडिन थालेपछि नितिशले विस्तारै आरजेडीसँग दुरी बढाउँदै लगे । प्रधानमन्त्री मोदी र भाजपाको प्रभाव देशैभरि बढ्न थालेपछि बिहारमा आफूलाई सुरक्षित राख्न नितिशले भाजपासँग सम्बन्ध बढाएको आरोप लाग्ने गरेको छ ।
सन् २०१७ मा नितिशले आरजेडीलाई सत्ताबाट निकालेर भाजपासँग सत्ता(साझेदारी गरे । अहिले भाजपा, बिहारका अध्यक्ष सुशील मोदी नितिशका उपमुख्यमन्त्री छन् ।
नितिशसँग सत्तासाझेदारी छुटेपछि तेजश्वी एकैपटक उपमुख्यमन्त्रीबाट प्रतिपक्षी दलको कुर्सीमा पुगेका थिए । सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा बिहारका ४० सिटमध्ये एउटामा पनि आरजेडीले जित्न नसकेपछि तेजश्वीको राजनीतिक भविष्य माथि टिकाटिप्पणी हुन थालेको थियो । तेजश्वीले हार मानेन् । पछिल्लो एक वर्ष उनले १२ करोडभन्दा बढी जनसंख्या भएको र जातीय राजनीतिले जरो गाडेको बिहारका कुना कुना पुगेर निरन्तर प्रचारप्रसार गरे । उनको युवा अनुहार, बुबा लालुको जस्तै आम लवजमा भाषण गर्ने शैली, तीन पटक मुख्यमन्त्री भएका नितिशप्रतिको घट्दो आकर्षण र कोरोनाले गर्दा बिहारमा रोजगारी र आममानिसको आयमा आएको कमीले तेजश्वी यादवप्रतिको आकर्षण बढेको विश्लेषकहरूको भनाइ छ । त्यसमाथि तेजश्वीले आफ्नो गठबन्धनले चुनाव जितेमा आफू नेतृत्वको सरकारले पहिलो निर्णयमै दस लाख रोजगारी सिर्जना गर्ने वाचा गरेका छन् । भाजपा जेडियुको सत्तारुढ गठबन्धनलाई चुनौती दिन तेजश्वीले बिहारमा कांग्रेस आई र वामपन्थी पार्टीहरूसँग मिलेर ‘महागठबन्धन’ निर्माण गरेका छन् ।
प्रियंका गान्धीसँग मिलेर उनले बिहारमा कठिन मानिएको कांग्रेस आरजेडी गठबन्धन सम्भव तुल्याएका हुन् । २४० सदस्यीय बिहार विधानसभामा कांग्रेस आई ७० सिटमा, तेजश्वीको आरजेडी १४० सिट र बाँकी सिटमा वामपन्थी र साना दल लड्दैछन् । तेजश्वी सो गठबन्धका तर्फबाट मुख्यमन्त्रीको उम्मेदवार हुन् ।
पछिल्लो पटक गरिएका मत सर्वेक्षणले बिहारमा अहिले पनि भाजपा र नितिश कुमारको गठबन्धनलाई अगाडि देखाएका छन् । ती सर्वेक्षणले नितिश कुमारको लोकप्रियता व्यापक रूपमा झरेको पनि देखाएका छन् ।तेजश्वी यादवप्रति युवाहरूको बढ्दो आकर्षणको एउटा कारण त्यसलाई पनि मानिएको छ ।
तेजश्वी क्रिकेटका पूर्व खेलाडी हुन् । उनले कक्षा ९ पढ्दा पढ्दै औपचारिक शिक्षा छाडेका थिए । उनी कुनै समय झारखण्डको टिमबाट रन्जीत ट्रफी खेल्ने गर्थे । उनी आइपिएलको सुरूआती चरणमा दिल्लीको टिममा पनि चुनिएका थिए । आइपिएल खेल्न भने उनले पाएनन् ।
औपचारिक शिक्षा कम भएको र भ्रष्टाचारमा उनको परिवारको संलग्नताको विषयलाई लिएर भाजपाले तेजश्वीको आलोचना गर्ने गरेको छ । तेजश्वीका बाबु लालु सन् २०१८ देखि जेलमा छन् । तेजश्वीले भने कैंयन खेलाडीको औपचारिक शिक्षा कम हुने गरेको र आफ्नो पनि त्यो बेला पढाइभन्दा खेलमा ध्यान गएको जवाफ दिने गरेका छन् । उनका बुवा लालुले गरेको भ्रष्टाचारमा उनलाई पनि मुछ्ने गरिएकामा पनि तेजश्वीले जवाफ दिने गरेका छन् । उनी उल्टै सोध्ने गर्छन्, ‘मेरो जुँगाको रेखी पनि नबसेको समयमा भएको भ्रष्टाचार मुद्दामा मेरो आलोचना किन ? म उप(मुख्यमन्त्री हुँदा कुनै भ्रष्टाचार गरेको भए त्यसमा कुरा गरौं न ।’
बिहारका सडकहरूमा खाल्डा देखे आफूलाई खबर गर्न भन्दै तेजश्वीले सरकारमा भएका बेला आफ्नो ह्वाट्स एप नम्बर बाँडेका थिए । उनलाई त्यस्ता उजुर कति आए त थाह छैन, तर त्यो बेला २६ वर्षीय लक्का जवान तेजश्वीलाई आफूसँग बिहे गर्न भन्दै ४० हजार युवतीहरूले म्यासेज पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
—साभार सेतोपाटी