कोरोना संक्रमणबाट झापाका चार जनाको मृत्यु
झापा, १८ कात्तिक । कोरोना संक्रमणबाट झापाका चार जनाको एकैदिन मृत्यु भएको छ । मृत्यु हुने सबै पुरुष हुन् ।बिर्तामोड , दमक , गौरादह र कमलका एक—एक जनाको मृत्यु भएको हो । बिर्तामोडमा मृत्यु हुनेमा शिक्षासेवी सनत ओली रहेका छन् ।
सोमबार राति ११ बजे काठमाडौको ह्याम्स हस्पिटलमा ६७ वर्षिय ओलीको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ । बिगत तीन सातादेखि कोरोनाका कारण बिरामी परेका ओलीलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो। त्यहाँ संभव नभएपछि काठमाडौ लगिएको हो ।
बुद्धशान्ति गाउँपालिका जयपुर निवासी ओली केही वर्षदेखि बिर्तामोड ५ मा बस्दै आएका थिए । लामो समय शिक्षण सेवामा रहेका ओली आदर्श माध्यमिक विद्यालय जयपुरका पूर्व प्रधानाध्यापक हुन् । उनी ओली बंश समन्वय समितिका केन्द्रीय महासचिव समेत रहेका थिए । नेपाली काँग्रेसका क्रियाशील सदस्य ओली बिर्तामोड नगर समितिका सदस्य र ५ नं वडा कार्य समितिका सल्लाहकार रहेका थिए ।
त्यस्तै दमकमा फेरि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ६ पुरानो सब्जी बजार निवासी ७१ वर्षिय खड्गबहादुर अधिकारी रहेका छन् । उनको मंगलबार बिहान ६ बजे घरैमा मृत्यु भएको हो । कात्तिक १० गते संक्रमण पुष्टि भएका अधिकारी होम आइसोलेसनमा रहेका थिए । उनको शव नेपाली सेनाले अन्त्येष्टि गरेको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १९ पुगेको छ ।
त्यस्तै गौरादहमा पनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका १ गेउरिया निवासी ८४ वर्षिय गणेशबहादुर अधिकारी रहेका छन् । उनको मंगलबार बिहान १० बजे आफ्नै घरमा मृत्यु भएको हो । लामो समयदेखि क्यान्सर रोगले पीडित अधिकारीलाई कात्तिक ७ गते संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।
त्यस्तै मंगलबार दिउँसो कमल गाउँपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल वडा नं ४ का ५० वर्षिय इन्द्र आङदम्बे रहेका छन् । कात्तिक १५ गते नोवेल विराटनगरमा संक्रमण पुष्टि भएका उनको घरैमा मृत्यु भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् । योसँगै कमलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ भने जिल्लामा ५३ पुगेको छ ।