देशमा आज थपिए २८२४ नयाँ संक्रमित
काठमाडौँ १६ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४६५ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ३८६ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७८ जनाको भेन्टिलेटरमा र २८३ जना आईसीयूमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९६० पुगेको छ ।